लेखक: गुलाबी संवाद

नेपाली समाजमा यौन, यौनिकता, प्रजनन स्वास्थ्य र यसको अधिकारको छलफल संकोचको विषय मानिन्छ । यस्ता विषयलाई शारीरिक सम्बन्धको रूपमा मात्रै बुझ्ने प्रचलन छ । विद्धालय र सार्वजनिक वृत्तमा यस्ता विषयमा उचित शिक्षण र पर्याप्त छलफल भइरहेको देखिन्न । यस्ता विषयलाई सकभर पन्छाउने शैली अभिभावकहरूमा पनि उत्तिकै छ । त्यसैले बालबच्चा र किशोर अवस्थाका व्यक्तिहरू यस्ता विषयमा अनेकन खुल्दुली, भ्रम र गलत बुझाइसँगै हुर्किरहेका देखिन्छन् ।

यसरी पाठ्यक्रम र सार्वजनिक वृत्तका बहसहरूमा यी विषय अभाव भएपनि डिजिटल प्ल्याटफर्ममा यस्ता विषयबारे अनेकन सामग्री ९भिडियो, फोटो, सूचना, चित्र आदि० भेटिन्छन् । इन्टरनेटको उपलब्धतासँगै यौनिकता सम्बन्धी सामग्रीहरू माथिको पँहुच सहज हुन थालेको छ जुन इन्टरनेट बाहिरको दुनियाँमा त्यति सजिलोसँग भेट्न सकिँदैन । यद्यपि, ती सामग्रीहरू केलाउँदा तिनमा अनैतिक तवरले उत्पादन र प्रकाशन गरिएका, यौन सकरात्मकता र शारीरिक विविधताको कमी भेटिन्छ । र, उपलब्ध सामग्रीहरू कसरी खोज्ने वा पँहुच राख्ने भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ । त्यस्तै यी सामग्रीले भ्रम, अधुरा र अपूरा बुझाइहरू फैलाइरहेका छन् वा छैनन् भन्नेबारे निकै सीमित अध्ययन र छलफल भइरहेका छन् । यस्तो अवस्थामा विभिन्न उमेर, लिङ्ग, यौनिक अभिमुखीकरण भएका व्यक्ति, यौनिक हिंसाको इतिहास र मानसिक स्वास्थ्यमा पारेको वा पार्नसक्ने असर जस्ता यावत कुराहरूलाई भने समेट्न सकेको छैन ।

यस्तो परिस्थितिमा डिजिटल थलोमा धेरै अन्तर्राष्ट्रिय र नेपाल भित्रकै संघ संस्था, व्यक्ति वा अभियानहरू जस्तै : एजेन्टस् अफ इश्क, क्रिया, योशान  सञ्चालनमा आएका छन् । जसले यौन र यौनिकता सम्बन्धी विषयमा खुलेर गफ गर्न र सिकाइ आदान प्रदान गर्ने वातावरण तयार गरेको छ । यसै गरी, गुलाबी संवाद स् अ टिनएज टकले संस्थागत रूपमा बालबच्चा, किशोर अवस्थाका व्यक्ति अभिभावक र सरोकारवालाहरूलाई खुला छलफलमा जोड्ने प्रयत्न शुरू गरेको छ । परम्परागत सार्वजनिक संचारका माध्यमहरू खर्चिलो हुने, त्यस्ता माध्यममा सबैको पहुँच नहुने र गोप्य मानिने यस्ता विषयको छलफलमा सबै खुला रूपमा जोडिन अस्वीकार गर्ने परिस्थितिमा गुलाबी संवादले डिजिटल प्ल्याटफर्म मार्फत नै यस्ता विषयको संस्थागत छलफल शुरू गरेको छ । छलफलको शुरूवातमा जोडिनुअघि हामी बालबालिका तथा किशोरकिशोरीसँग सरोकार राख्ने रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आबद्द थियौँ । सोही क्रममा हामीले कैयौँ जिल्लाका ग्रामीणदेखि शहरी भेगमा धेरै बाल र किशोर उमेर समूहका व्यक्तिहरूसँग प्रत्यक्ष भेट्ने, कुराकानी तथा संवाद गर्ने अवसर पायौँ ।

वि. सं २०७६ को अन्त्यतिर इलाम र झापाका केही विद्धालयमा हामीले किशोर उमेर समूहका विभिन्न विषय माथि स्कुले विद्धार्थीहरूसँग छलफल गरेका थियौँ । सोही क्रममा झापाको एउटा विद्धालयमा हामीले असल र गलत छुवाइका बारेमा बुझाउँदै यौन दुव्र्यवहार सम्बन्धी कुराकानी गर्दा कक्षामा सहभागी छात्र विद्यार्थीहरूले हामीलाई नै बुली गर्नुका साथै उनीहरूले बुझेर वा नबुझेर आफ्ना कक्षाका केटी साथीहरूलाई गर्दै आएका दुर्व्यवहारका घटनालाई स्वाभाविक र रमाइलोको रूपमा लिएका थिए । उनीहरूको बाल तथा किशोर मनोभावनालाई बुझ्दै जाँदा अन्य विषयहरू भन्दा यौन तथा प्रजनन स्वास्थ्यका विषयमा परम्परागत दृष्टिकोणका कारण त्यस्ता बुझाइ हावी भएको हामीले महसुस गरेका थियौँ । यसैगरी, दैलेखको एउटा विद्धालयमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा कुराकानी गर्न खोज्दा विद्धालयमा शिक्षकले नै “‘यौनको विषयमा बोल्न तपाईँहरूलाई लाज लाग्दैन रु” भनेर हाम्रो परिवारको समेत चरित्रमाथि प्रश्न उठाउने प्रयास गर्नुभएको थियो । त्यतिमात्रै नभइ, आफ्ना स्कुलमा अध्ययन गरिरहेका बाल समूहलाई आफूहरूले यस्ता कुरा सिकाउन नसक्ने भन्दै बरु अन्य विषयवस्तुमा नै छलफल गर्न सुझाव दिनुभएको थियो । यसले हाम्रो समाजमा मोरल पोलिसिङ (नैतिकतालाई आधार बनाई गरिने निरिक्षणकारी नियन्त्रण) कति व्यापक छ भन्ने देखाउँछ जसका कारण पनि यौन र यौनिकता जस्ता विषयबारे खुला छलफल हुन गाह्रो छ ।

तर, जब हामीले कक्षामा सहभागी भएर विद्धार्थीहरूसँग के विषयमा हामीले छलफल गर्न मन छ भनेर सोध्यौँ तब, केहीबेर अगाडि सरसँग डिस्कस भएको विषयमा कुरा गर्नुस् भनेर प्रतिक्रिया पायौँ । त्यसपछि सञ्चालन गरिएको १ घण्टा लामो छलफलले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा हाम्रा विद्धालयले समेत स्वस्थ छलफल गर्न नसकेको पायौँ । साथै, उक्त विषयमा पाठ्यक्रममा उपलब्ध सामग्री समेत पर्याप्त नभएको महसुस भयो । प्रशस्त छलफलको अभावमा यस्ता विषयबारे अनेक भ्रम र अन्धविश्वासहरू पनि फैलिरहेको हामीले पायौँ ।

यौन तथा यौनिकता र प्रजनन स्वास्थ्यबारे विधमान खुला छलफलको कमीलाई कम गर्न हामीले डिजिटल प्ल्याटफर्म छानेका छौँ । जस अन्तर्गत, हामीले साप्ताहिक रूपमा पडकास्ट सिरिज, गुलाबी संवादस् अ टिनएज टक सुरु गरेका छौँ । जहाँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारभित्र पर्ने विभिन्न पक्ष र विषयलाई सूक्ष्म रूपमा विभिन्न अंकमा क्रमशस् समेटिन्छ । अभिभावक, शिक्षक, बाल तथा किशोर समूह, सरोकारवाला व्यक्ति तथा संघसंस्थासँगका छलफल विभिन्न श्रृंखलाहरूमा जोड्दै जाने र उठेका विषय सम्बन्धित विषय विज्ञको कुराकानीलाई पनि हामीले अनौपचारिक शैलीमा कार्यक्रममा समेट्दै आइरहेका छौँ । कार्यक्रममा हामीले मुख्यतस् किशोरावस्थामा आउने परिवर्तन, यौन जिज्ञासा, हस्तमैथुन, महिनावारी, प्रजनन स्वास्थ्य, यौन र यौनिकता, यौनजन्य संक्रमण र त्यसका लक्षण तथा बच्ने उपाय, यौन दुर्व्यवहार र इन्टरनेटको माध्यमबाट हुने दुर्व्यवहार तथा त्यसले बाल तथा किशोर समूहमाथि पार्ने शारीरिक, मानसिक, भावनात्मक र मनोसामाजिक समस्या, साइबर अपराध र कानुनी उपचार लगायतका विषयमा छलफल गरिरहेका छौँ । १५ मिनेट लामो पडकास्ट सिरिज, हाल अनलाइन प्ल्याटफर्म anchor.com सँगै देशभरका विभिन्न ३० वटा स्थानीय रेडियोबाट प्रसारण भइरहेको छ।

 

 

many search bars including various questions around sexual and reproducive health

हामीले उठाएका विषयबारे खुला छलफल होस् भनेर हामीले नेपालभित्र व्यापक प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकदेखि युट्युबमा आधिकारिक अकाउन्ट खोलेका छौँ । ती अकाउन्ट मार्फत हामीले उत्पादन गरेका डिजिटल सामग्रीको प्रचारप्रसार मात्रै गरिरहेका छैनौँ, बरू हामीले उठाउने विषयवस्तुमा धेरैभन्दा धेरैले बहस गरुन् भनेर पनि प्रयासरत छौँ । बहसमा जोडिन खोज्नेहरूलाई प्रोत्साहित गर्न उनीहरूलाई परिचय सहित वा परिचय सार्वजनिक नर्गने शर्तमा पनि जोडिन आग्रह गर्ने गर्दछौँ ।

सामाजिक सञ्जालमा जो कसैले खुला कमेन्ट गर्न सकुन् वा च्याट रुममा आफ्ना जिज्ञासा, प्रश्न वा खुल्दुली साट्न सकुन् अथवा इमेल मार्फत उनीहरू जोडिन सकुन् भन्नेमा हामी प्रयत्नरत छौँ ।

 

अनलाइन प्ल्याटफर्म नै किन त ?

संसंयुक्त राष्ट्र संघले इन्टरनेटको पहुँचलाई आधारभूत मानवअधिकारको रूपमा अर्थ्याएको छ । त्यस्तै नेपालमा पनि इन्टरनेटको व्यापक पहुँच र विस्तार भइरहेको देखिन्छ । ग्लोबल वेब इन्डेक्सले नेपालमा १०.२१ मिलियन इन्टरनेट प्रयोगकर्ता रहेको, र सन् २०१९ को दाँजोमा सन् २०२० मा इन्टरनेट प्रयोगकर्ताको संख्या १३ सय १५ हजारले बढेको देखाउँछ । त्यस्तै नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या १० मिलियन रहेको र सन् २०२० को जनवरी महिनासम्मको तथ्यांकलाई हेर्दा यो संख्या ३५ प्रतिशतले बढेको देखिन्छ । इन्डेक्सका अनुसार २०२० को जनवरीसम्म नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या ४२.८५ मिलियन रहेको थियो । यस्ता तथ्यांकले नेपालमा इन्टरनेटको सर्वव्यापी पहुँचलाई मात्रै देखाउँदैन, यस्तो माध्यमबाट कसरी ठूलो समुदायसम्म आफ्नो कुरा पुर्‍याउन सकिन्छ भन्ने पनि बुझाउँछ । हुन त, यी तथ्यांकले शहरी क्षेत्र भन्दा परको ग्रामीण समुदायको इन्टरनेट माथिको पँहुचबारे प्रस्ट चित्रण गर्न सकेका छैन। र, ती क्षेत्रमा शहरी क्षेत्र जत्तिकै इन्टरनेटको वितरण र पँहुच भएको कुरा त अझ यकिन छैन । यद्यपि, इन्टरनेटको पहुँच भएका स्थानमा भने सूचनाको प्रसार गर्न सजिलो मात्रै भएको छैन ।

परिचय सहित वा परिचय लुकाएर र जुनसुकै कुनामा बसेर पनि डिजिटल कन्टेन्ट उत्पादन र वितरण गर्न सकिने सुविधा भने छ । सँगसँगै यौन तथा प्रजनन स्वास्थ्यबारे अफवाह पनि उत्तिकै फैलिने र सही सूचनाहरू गलत सूचनाका छायामा पर्ने खतरा पनि विद्यमान देखिन्छ ।

छद्म नामबाट सञ्चालित हजारौँ फलोअर्स भएका फेसबुक पेज, ट्विटर अकाउन्ट, टिकटक, इन्स्टाग्राम र युट्युब च्यानलहरूबाट यौन तथा यौनिकताबारे सामाजका विधमान भ्रम र गलत बुझाइहरू प्रसार भइरहेका छन् । यस्ता भ्रम र गलत सूचना छिटो र ठूलो जनसंख्यामाझ प्रसार हुँदा आवश्यक र सही सूचना नपाउने जोखिम बढ्दो छ ।

यौन खुल्दुली, महिनावारी, उमेरसँगै हुने शारीरिक परिवर्तनबारे सही सूचना दिनु र बहसको दायरा फराकिलो बनाउनु पर्ने एउटा चुनौती छ भने यस्ता विषयबारे डिजिटल प्ल्याटर्फम मार्फत फैलिएका गलत सूचना चिर्नु अर्को चुनौती छ । यस्तो दोहोरो चुनौतीलाई कसरी समाना गर्ने र संस्थागत र जिम्मेवार डिजिटल प्ल्याटफर्महरूको प्रवर्द्धन कसरी गर्ने भन्ने जटिलता गुलाबी संवादले झेलिरहेको छ ।

तर, विभिन्न चुनौतीका बाबजुद हामीले प्राप्त गरेका सल्लाह, सुझाव र प्रतिक्रियाले भने सकारात्मक ऊर्जा दिएका छन् । जसले गर्दा हामीले सुरुआत गरेको प्रयासलाई अझै सशक्त बनाउने अठोट लिएका छौँ ।

हामीलाई सुन्नका लागि यस लिंकमा  जानुहोला ।

त्यस्तै गुलाबी संवादसँग जोडिन आएका बाल तथा किशोर उमेर समूहको अनुभव श्रृंखला पढ्नका लागि www.gulabisambad.blogspot.com

साथै हामीसँग जोडिनका लागि तपाईँले निम्न माध्यममा सम्पर्क गर्न सक्नुहुनेछ ।

Facebook: www.gulabisambad.blogspot.com
Instagram: GulabiSambad
Twitter: @GulabiSambad
Gmail : gulabisambad@gmail.com
Mobile: 9851227621 (Sabita Acharya), 9845636861 (Karuna Devkota)

अन्त्यमा, विभिन्न चुनौतीका बाबजुद पनि अनलाइन माध्यम भनेको युवापुस्ता माझ सजिलो गरी पुग्ने र उनीहरूलाई आफ्नो पहिचान नखुलाएर पनि अभिव्यक्त गर्न सहज बनाउन सजिलो माध्यम भएकोले यसको प्रयोग गरी यौन र यौनिकताको छलफललाई अझ फराकिलो बनाउनु पर्ने आवश्यकता भने अझै कायम नै छ ।

banner of introduction to gulabi sambaad