Illustration by Yozana Magar

 

लेखक – बबिता राई

 

स्व-सेन्सरसीपको कथा

‘के महिलाले पनि हस्तमैथुन गर्छन्?’ करिब चार वर्षअघि एउटा फेसबुक पेजमा अकस्मात देख्न पुगेको यो प्रश्नले मलाई खुब बिझायो र पुरुषहरुको मात्र भीड रहेको कमेन्ट सेक्सनमुनि घुसेर लेखिछाडेँ- ‘ यदि महिलाहरु पनि यौनिक मानव हुन् भने हस्तमैथुन गर्नु सामान्य हो।’ त्यसपछि मलाई अपरिचित पुरुषहरुबाट त्यस्ता म्यासेज आउन थाले जुन एकजना किशोरीले सजिलै सम्हाल्न सक्ने किसिमका थिएनन्। एकजना महिलाले हस्तमैथुनको विषयमा बोल्नुको अर्थ ऊ हिँसा गर्न लायक व्यक्ति हो जसरी ममाथि विभिन्न प्रश्न र टिप्पणीको वर्षा भयो। सम्भवत: यो नै मेरो सामाजिक सञ्जालमा सामान्य यौनजन्य विषयमा बोल्दा भोग्नुपर्ने हिँसासँग परिचित हुन पुगेको पहिलो घटना थियो। आफैँमाथि दोष आउन सक्ने डरका कारण त्यस घटनाबारे कसैलाई पनि बताउन सकिनँ। कम्तीमा आजको जति मात्रै पनि स्पष्टता हुन्थ्यो भने आफूलाई सम्हाल्न सहज हुन सक्थ्यो तर त्यस समय ममाथि भइरहेको दुर्व्यवहारको जिम्मेवार म होइन भनेर आफैलाई बुझाउन निकै कठिन भयो।

त्यस घटनाले मलाई यसरी असर गर्‍यो कि केही समय यौनका विषयमा खुलेर लेख्न आफूमाथि प्रतिबन्ध लगाइरहेँ। यौनका विषयमा खुल्ला रुपमा बोलेबापत महंगो मूल्य चुकाउन पर्ने डरले आफ्ना अभिव्यक्तिमाथि आफैँ सेन्सरसीप लगाइरहेँ। केही समयको प्रयासपछि आफ्नै डरलाई केही हदसम्म जित्न त सफल भएँ तर उदार रुपमा प्रस्तुत भएबापत भोग्नुपर्ने दुर्व्यवहारको शिलशिला त रोकिएको छैन बरु बढेर गएको छ। यधपी मेरा लागि आफ्ना दैनिक जीवनका अनुभव बताउन, असन्तुष्टि, आक्रोश पोख्न र समाजमा वर्जित विषयमा आफ्ना धारणा राख्ने सबैभन्दा उपयुक्त थलोका रुपमा अनलाइन स्पेस नै रह्यो। समाजमा ठूलै परिवर्तन ल्याउँछु भनेर पनि होइन तर आफ्नो तर्फबाट प्रतिरोध जनाउन र आफ्नो व्यक्तिगत स्वतन्त्रताको वकालत आफैं गर्न भएपनि यस माध्यमलाई प्रयोग गर्दै आएको छु। यौनिक अनुभव, धारणा, आक्रोश व्यक्त गर्नका निम्ति मसँग उपलब्ध सहज माध्यमका रुपमा सामाजिक सञ्जाल निकै सहयोगी बन्दै आएको छ। महिलाको एउटै मात्र यौनिक अभिव्यक्ति दबाइनु र हिँसा गर्न लायक व्यक्तिका रुपमा व्यवहार गरिनुको असर तुरुन्त सकिदैन। कतिपय महिलाका निम्ति त्यही एउटा अभिव्यक्ति नै अन्तिम पनि हुन जान्छ। मसँगको कुराकानीमा प्रायजसो महिलाहरुले यौनिक अभिव्यक्तिको स्वतन्त्रता उपयोग गर्दा आउने परिणामको डरले खुल्न नसक्ने बताइरहेका हुन्छन्। हामी अधिकांश महिलाले यौन, हस्तमैथुनका बारेमा खुलेर लेख्दा बोल्दा, बहस गर्दा, हाँसीमजाक गर्दा, भर्चुअल यौन क्रियाकलापमा संलग्न हुँदाका डर, स्व-सेन्सरसीप र त्यसपछिका परिणामबाट भोग्नपर्ने मानसिक सामाजिक असरका कथाहरु साझा छन्। आफूले भोगेका यौन उत्पीडनबारे होस् या आफूले खोजिरहेको यौन सुखबारे होस् एकपटक हिम्मत गरेर मुख खोलेको महिलालाई समेत उल्टै  दोषी करार गरेर ग्लानी महशुस गर्न बाध्य बनाइन्छ। कहिलेकाही साथीहरुसँग बसेर इमान्दार भएर ‘कन्फेस’ गर्ने क्रममा हामीले कैयौंपटक आफ्नो परिचय लुकाएर भर्चुअल यौन क्रियाकलापमा सहभागी भएको स्विकार गरिरहेका हुन्छौँ। परिचय लुकाउनुको कारण हाम्रो रोजाइभन्दा धेरै डर हो। हामीले विभिन्न समयमा छोडेका डिजिटल ‘फुटप्रिन्ट’ कुनै पनि समयमा हामीलाई हानी पुर्‍याउने हतियारका रुपमा प्रयोग नगरिएलान् भन्न सकिदैन। यो विषाक्त संरचनाबाट उत्पादित पुरुषहरु कुनै पनि बेला पुरुष अहमताबाट घाइते भएर यस्ता गतिविधिमा संलग्न हुँदैनन् भनेर विश्वस्त हुनलाई कुनै आधार पनि त छैन। यो समाजमा महिला भएर बाँच्नु प्रत्येक क्षण अनेक डरहरुसँग लडाइँ गरिरहनु हो। आफूले गर्दै नगरेको गल्तीका निम्ति सामाजिक रुपमा लज्जित हुनुपर्ने अवस्थाबाट यस्ता डरहरु जन्मिरहेका हुन्छन्। महिलाका मुखबाट यौन शब्द उच्चारित मात्रै हुनुपर्छ समाजका कुन्ठित पुरुषहरु आफ्नो वास्तविक अनुहार लिएर हाम्रा प्राइभेट च्याट बाकसहरुमा आइपुग्छन्। कतिपय माध्यममा ट्रोलिङ, चरित्रमाथि प्रहार गरिएका शब्दावली त छदैछन् त्यसमाथि परिवार, आफन्त, साथीभाइबाट हुने दोषारोपणले मनोबल असाध्यै कमजोर हुन पुग्छ।

 

भर्चुअल यौन र असुरक्षा

डिजिटल माध्यमहरुको ब्यापकतासँगै हाम्रो जीवन शैलीमा पनि ब्यापक परिवर्तन आइरहेको छ भने यसबाट हाम्रो यौन व्यवहार मात्रै अप्रभावित रहन सक्दैन। झन यौनका मामलामा अनुदार समाजमा व्यक्तिहरुको यौनिक सम्बन्ध र सम्पर्क कायम हुनमा डिजिटल माध्यमको भूमिका विषेश हुन पुगेको छ।खासगरी इन्टरनेटको पहुँचमा रहेका युवापुस्तामाझ त भर्चुअल यौन र रोमान्सको नयाँ संस्कार नै स्थापित भइरहेको छ। भर्चुअल यौन व्यवहारको विविध अभ्यास सामान्य विषय बन्दै गएको छ। एकअर्काका तस्बिर र भिडियो साटासाट गर्ने, यौन भावना व्यक्त गर्नेजस्ता कार्यहरु युवापुस्तामाझ प्रचलित भइसकेका छन्। यो व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास हो तर महिलाको ‘व्यक्ति’ हुने संघर्ष पूरा भइनसकेको हुनाले यहाँनेर फेरि स्वतन्त्रता अभ्यासमा रोक लगाउने कैयौँ पक्षहरु खडा भइरहेका हुन्छन्। महिलाको यौनिकतामाथि थोपरिएको लाज र इज्जतको भारले सर्वप्रथम उनीहरुमाथि स्व-सेन्सरसीप लगाउन बाध्य बनाइरहेको हुन्छ। आफ्नै मान्यतासँगको लडाइँ र चरणबद्ध सेन्सरसीपपछि मात्र केही हदसम्म खुल्न पुग्दा पनि त्यसको नतिजा के होला भन्ने सम्भावित जोखिमको डरले ठाउँ छोड्दैन। गोपनियता कायम हुने विश्वासका आधारमा साटासाट गरिएका तस्वीर, भिडियो, कुराकानी सार्वजनिक गर्ने वा गरिदिने धम्की दिएका घटनाका उदाहरणहरु  प्रशस्त देख्दै आइरहेका छौँ। बिबिसीले सार्वजनिक गरेको सन् २०२० का प्रभावकारी महिलाहरुको सूचिमा पर्न सफल किशोरी सपना रोक्का मगरलाई एक व्यक्तिले सार्वजनिक रुपमा धम्की दिएको उदाहरण पनि हाम्रोसामु ताजै छ। धम्की दिने व्यक्तिलाई पक्राउ गर्ने मात्रै नभइ सपनाका पक्षमा आवाजहरु उठ्नुले अब समाज श्रीषा कार्की, जेसिका खड्काहरुको समयभन्दा केही अघि सरिसक्यो भन्ने आशाको संचार पनि गराएको छ। तर यहाँनेर महत्त्वपूर्ण कुरा के पनि छ भने सपनाजस्ता समाजले आदर्श मानेका, प्रिय व्यक्तिहरुलाई जति सजिलै सहयोग समर्थन प्राप्त हुन सक्छ त्यति समाजका केही मान्यताभन्दा पर रहेर सामाजिक घेरा नाँघेर खुलस्त बाँच्ने महिलाहरुलाई भने प्राप्त हुँदैन। यस्ता महिलाको हकमा चरित्रलाई अघि सार्दै उसैमाथि दोषारोपण गर्ने प्रयत्न गरिन्छ।

कुनै पनि यौनिक अभिव्यक्ति सहितको गोप्य कुराकानी, तस्वीर, भिडियो सार्वजनिक हुनुको अर्थ महिला र पुरुषका लागि फरकफरक हुन्छ। महिलालाई यस अवस्थाबाट निस्कन कुन हदसम्म कठिन हुन्छ भने आत्महत्या नै गर्न बाध्य भएका घटनाहरु पनि हामीले देखिसकेका छौँ। डिजिटल साधन र माध्यमहरुसँग हामी अभ्यस्त बन्दै जाँदा र हाम्रा यौन व्यवहारहरुमा पनि यसको उपस्थिति बढ्दै जाँदा पहिलो जोखिम महिलालाई नै पर्न जान्छ। सहमतिमै खिचिएका, साटासाट गरिएका अन्तरंग तस्वीर र भिडियोहरु अवैध तरिकाले सार्वजनिक हुँदा मुख्य चासोको केन्द्रमा महिलाको अनुहार र चरित्र नै पर्छ। सँगै सहभागी पुरुषको दृश्यता खास चासोमा पर्दैन। महिलाको पारिवारिक सामाजिक जीवनमा जति असर पर्छ त्यति पुरुषलाई पर्दैन किनभने उसले पुरुष हुनुको छुट र सान्त्वना पाइरहेको हुन्छ। यस्तो घटनामा प्रश्न हुनुपर्ने खास दोषी पक्षतिर भने कसैको पनि ध्यान पुग्दैन। नैतिकता र अनैतिकताको सवाल र बहसमा हाम्रो सारा ध्यान तानिन्छ र यस्ता गोप्य सामाग्री सार्वजनिक गर्ने व्यक्तिमाथि  भने आक्रोश पोखिएको देख्न पाइदैन। कानुनी सहारा लिन सकिने अवस्थामा पनि सामाजिक जीवनमा क्षति भइसकेको हुन्छ जसलाई कुनै लिखित कानुनले पनि रोक्न वा क्षतिपूर्ति गर्न सक्दैन। आपसी सहमतिमा यौनजन्य क्रियाकलापको तस्वीर र भिडियो खिच्ने, साटासाट गर्ने वयस्क व्यक्तिहरु लज्जित हुनुपर्छ तर त्यसरी अरुको गोप्य सामाग्री अवैध रुपमा सार्वजनिक गर्ने आपराधिक मानसिकता भएका व्यक्तिले त्यति लज्जित हुनुनपर्ने समाजको ठूलो विरोधाभास हो। अधिकांस अवस्थामा गोप्य तस्वीर, भिडियो, कुराकानी सार्वजनिक गर्ने कार्य त्यस क्रियाकलापमा संलग्न रहेको पुरुषबाटै हुने गरेको पाइन्छ। महिलाको यौनिकतासँग जोडिएको इज्जत पुरुष मानसिकताका लागि सबैभन्दा गतिलो हतियार बन्न पुग्छ र उसले आफ्नो सुविधाअनुसार प्रतिसोध साँध्न, महिलालाई नियन्त्रणमा लिन होस, या शक्ति र जित प्रदर्शनका लागि होस त्यसैलाई प्रयोग गर्न उपयुक्त ठान्छ। आफ्नै संलग्नता र गोपनियता भंग हुने अवस्थामा पनि पुरुषले यस्तो कदम उठाउँन सक्छन् किनभने ऊ पुरुष हुनुको आधारले गर्दा उसको चरित्र र नैतिकताको सवाल समाजभन्दा केही परै हुन्छ। यसले उसको पारिवारिक, सामाजिक, राजनीतिक जीवन र सम्बन्धहरुमा खास असर गर्दैन। कुनै महिलाले विश्वासका आधारमा अर्को व्यक्तिलाई नग्न तस्वीर पठाएको र पछि त्यस व्यक्तिले वा अरु कसैले सार्वजनिक गरिदिएको खण्डमा सम्पूर्ण दोष महिलामाथि नै आइलाग्छ। यस्तो परिणामको डरले पनि महिलाहरु भर्चुअल यौन क्रियाकलापमा संलग्न हुनबाट आफूलाई रोकिरहेका हुन्छन्। स्वभाविक चाहना उजागर गर्न सक्ने अवस्था नहुनाले महिलाको यौन व्यवहार नै नियन्त्रणमा पर्छ। अफलाइन या भौतिक दुनियाँमा महिलाको यौन व्यवहारका निम्ति झनै साँघुरो स्पेस छ। भर्चुअल विश्वमा पनि खुम्चिनैपर्ने यथार्थ छ। महिलाको हकमा भने पारिवारिक सामाजिक सम्बन्धमा फरक पर्ने मात्र होइन उमाथि वर्षौंसम्म पनि प्रहार भइरहन सक्छ। यो इन्टरनेटको दुनियाँमा पूर्णरुपमा मेटाउन असम्भव हुने सामाग्रीहरुले बारम्बार दुख दिइरहन सक्छन्। महिलाको यौनिकता र इज्जतको सवाल केवल उसैमा मात्र सिमित नरहने भएकाले पारिवारिक नाता सम्बन्धहरुमा समेत नकारात्मक असर पुग्न सक्छ। कानुनी उपचार लिन पनि त्यति सहज छैन किनकि हाम्रो कानुनी व्यवस्था र संयन्त्र पहुँचयोग्य र पीडितमैत्री नै छैनन्। जबदेखि खास समस्या तस्वीर र भिडियोमा होइन त्यसलाई विभिन्न उदेश्यले अनुमतिबिना सार्वजनिक गर्ने कार्यमा छ भनेर पुरुषवादी मानसिकतालाई प्रश्नको घेरामा पार्न थालिन्छ तबदेखि मानसिक सामाजिक क्षति पनि कम हुँदै जान्छन्। होइन भने डरैडरको काँडाघारीबिच रहेर महिलाहरुले निर्धक्क यौन स्वतन्त्रताको अधिकार अभ्यास गर्न सक्दैनन्।

 

अभिव्यक्तिको अर्थ र संकेत

मानिसहरूले आफूलाई अभिव्यक्त गर्ने सजिलो माध्यमका रुपमा डिजिटल माध्यमलाई स्विकार गरिरहेको आजको समयमा फेसबुकमा विभिन्न समूहहरुको निर्माण भइरहेको देख्न सक्छौँ। महिलाहरु मात्र सदस्य हुन पाउनेगरी सिर्जना गरिएका प्राइभेट ग्रुपहरु पनि प्रशस्त बनेका छन्। मपनि यस्ता केही ग्रुपमा आबद्ध रहँदाको अनुभव र अवलोकनबाट महिलाहरुका अभिव्यक्तिका विभिन्न स्वरुप र अर्थबारे अध्ययन गर्न मदत मिलेको पनि छ। किनभने आफूजस्तै महिलाहरु मात्र सदस्य हुने भएपछि यस्ता ग्रुपहरुमा उनीहरुले केही हदसम्म सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गरेका हुन्छन्। आफ्ना नितान्त व्यक्तिगत समस्या, अनुभूति, जिज्ञासा खुलेर व्यक्त गर्न र आवश्यक परेकालाई सकेजति सुझाव दिन सहज महशुस गरिरहेका हुन्छन्। कतिपय महिलाले यौन तथा प्रजनन स्वास्थसम्बन्धि समस्या मात्र नभएर यौनसम्बन्धि उत्सुकता, रमाइला किस्सा र चुट्किलामार्फत पनि आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन्। यसरी गोपनीयता कायम हुने विश्वासका साथ लेखिएका कतिपय यौनिक आशयका पोस्टहरुको स्क्रिनसट अन्य पुरुष समूह र सम्बन्धित महिलाको परिवारका सदस्यहरुमाझ फैलाइएका घटनाहरु पनि बारम्बार दोहोरिरहेका हुन्छन्। आफूले लेखेका कुरा ग्रुपको भित्ताभन्दा बाहिर गइसकेपछि अपरिचित पुरुषहरुबाट दुर्व्यवहारमा परेको र कतिपय अवस्थामा परिवारका सदस्यमाझ नै खबर पुगेका कारण मानसिक यातना भोग्न परेका घटनाहरु हामीले प्रशस्त देख्दै आएका छौँ। यस्ता घटनापछि केही महिला स्पष्ट अडान लिएर उभिन सक्छन् तर अधिकांश त आफैलाई दोषी ठहर गर्दै आफ्ना यौनिक अभिव्यक्तिमाथि नै नियन्त्रण गर्ने निर्णयमा पुगिरहेका हुन्छन्। यौनिक उत्सुकता, जिज्ञासा मेट्न र यौनसम्बन्धित चुट्किला र अनेक किस्सा व्यक्त गरेर रमाउन पाउने स्पेस नै नपाइने हाम्रो सामाजिक परिप्रेक्ष्यमा महिलाहरुले डिजिटल माध्यम प्रयोग गरी आफ्ना स्पेस सिर्जना गर्ने कोसिस गरिरहेका हुन्छन्। ट्विट, फेसबुक स्ट्याटस, टिकटक,, इन्स्टाग्राम स्टोरी, तस्वीर या  मिमहरुमार्फत यौनिक अभिव्यक्तिको अभ्यास गरिरहेका हुन्छन्। तर जसरी अफलाइन जीवनमा महिलाको हरेक गतिविधिमाथि अनुगमन र नियन्त्रणको प्रयास हुन्छ त्यसैगरी उही प्रवृत्ति अनलाइन गतिविधीका सन्दर्भमा पनि कहिले दुरुस्तै त कहिले केही फरक स्वरुपमा देखा पर्दछ। फलस्वरूप परिवार, आफन्त, साथीभाइबाट मानसिक यातना भोग्नुपर्ने र लज्जित बन्नुपर्ने अवस्था सिर्जना हुन्छ। दुर्व्यवहारका अनेक घटनाबाट गुज्रनुपर्ने हुन्छ। यो सामाजिक सञ्जालमा यौनबारे खुल्ला धारणा व्यक्त गर्ने महिलाहरुको साझा भोगाइ नै हो कि हरेक पटकको अभिव्यक्तिपछि दुर्व्यवहार, सेमिङ, टिप्पणीको सिकार नभएको अनुभव त दुर्लभ नै हुन्छ। आफ्नो मानसिक स्थिति बलियो नभएको खण्डमा त यस्तो कदम चाल्नु जोखिमपूर्ण नै हुन जान्छ किनकि त्यसपछि गोप्यदेखि सार्वजनिक रुपमा आउने प्रतिक्रिया र दुर्व्यवहारले विक्षिप्त बनाइदिन सक्ने सम्भावना अधिक हुन्छ। सामाजिक सञ्जालमा पुरुषहरुले आपसमा संवाद गर्दा खुलेर प्रयोग गर्ने द्विअर्थी शब्द, हस्तमैथुन र यौनसम्बन्धि मिम र हाँसीमजाक अत्यन्तै सामान्य मानिन्छन् तर महिलाका हकमा भने यी डिजिटल फुटप्रिन्टले आजको सामाजिक पारिवारिक जीवनदेखि भोलिको, वैवाहिक जीवन, करियर इत्यादी सम्म पुर्‍याउने असरबारे समेत पटकपटक सोचिरहनुपर्ने अवस्था हुन्छ। महिलाहरुले यौनको विषयमा हाँसीमजाक गर्नबाट समेत बन्चित हुनुपर्ने स्थिति छ। केही समयअघि सिम्रन पाण्डेको स्ट्यान्डअप कमेडी भिडियो युट्यूबमा सार्वजनिक हुँदा उनले प्रशस्तै आलोचनाको सामना गर्नुपर्‍यो। एकोहोरो पुरुषका नजरबाट निर्मित वयष्क कमेडी मात्र हेर्न र सुन्न अभ्यस्त समाजलाई एक महिला कमेडियनले त्यसको विनिर्माण गर्न खोजिरहेको दृश्य सजिलै पच्न सकेन। यौनिकता नियन्त्रणको जालो कहाँसम्म जेलिएको छ भने एकतिर महिलालाई एक स्वतन्त्र यौनिक प्राणीको रुपमा स्विकार्न चाहदैन र अर्कोतिर महिलाको पूर्ण अयौनिकता पनि स्विकार गर्दैन। महिला त्यसमा पनि अपांगता भएका र युवा अवस्था पार गरिसकेका महिलालाई त झनै लज्जित तुल्याउने प्रयास हुन्छ। अपाङ्गताको अवस्था र उमेरकै आधारमा उनीहरुको अमानविकरण हुन्छ र उनीहरुमाथि त दोहोरो तेहेरो रुपमा अंकुश लगाउने प्रयास गरिन्छ। हामीकहाँ खासै कुरा नभएका यी ‘एजिजम’ र ‘एबलिजम’जस्ता विषयले सामाजिक प्रतिबन्धका तहहरुलाई झनै बाक्लो बनाइरहेका हुन्छन्।

यौनिक अभिव्यक्ति, स्वतन्त्रता र अधिकारबारे स्पष्ट धारणा राख्ने नयाँ पुस्ताको सङ्ख्या वृद्धि हुने क्रममा छ। अनेक नकारात्मक टिप्पणीका बावजुद थप बलियो गरी उभिने महिलाको सङ्ख्य घटेको देखिदैन र यो घट्नेवाला पनि छैन। महिलाहरुले सामाजिक सञ्जालमा एउटा यौनसम्बन्धि मिम शेयर गर्नु पनि सामान्य होइन। सामान्य यसर्थमा होइन कि त्यही एउटा मिम शेयर गरेबापत उसले भोग्नपर्ने दुर्व्यवहार र सामना गर्नपर्ने प्रश्नको सूची लामै हुन सक्छ । त्यही एउटा मिम शेयर गर्न उसले हजारौंपटक आफूलाई रोकेको हुन सक्छ। त्यही एउटा मिम शेयर गरेकै कारण उसलाई कुनै दारु जमघट र अनलाइन च्याटरुमहरुको विषय बनाउदै चरित्रहिन ठहर गरिएको हुन सक्छ। एउटा मिम शेयर गर्नु पनि उसको आन्दोलन हुन सक्छ। अरुले नै सिर्जना गरेको एउटा मिम शेयर गर्नु पनि उसको ठूलै बिद्रोह हुन सक्छ। आफ्ना लागि वर्षौंदेखि प्रतिबन्धित विषयको मिम शेयर गरेर उसले प्रतिरोध जनाइरहेको हुन सक्छ। एउटा यौनिक अभिव्यक्तिका कारण डरलाग्दा परिणाम झेल्नुपर्ने डरका बावजुद पनि महिलाहरु निरन्तर जोखिम उठाउन तयार भइरहेका छन्। भर्चुअल यौन स्वतन्त्रताको भरपूर उपयोग गरेबापत अरुले भिराइदिने लाजको फुर्को ठाडै अस्विकार गर्ने पुस्ता हुर्कदै छन्। समग्रमा अनलाइन स्पेसमा अनेक जोखिमका बावजुद यौनिक अभिव्यक्ति स्वतन्त्रताको अधिकार दाबी गरिरहेका छन्। महिलाको यौनिकता नियन्त्रणको जगमा मजबुत रुपमा ठडिएको पितृसत्तात्मक व्यवस्थालाई निरन्तर माझी औंला ठडाइरहेका छन्। महिलाको यौनिक अभिव्यक्ति प्रखर रुपमा आउन थाल्नु पितृसत्ताको कब्जामा रहेको यौनिकता बिस्तारै फुस्किदै गएको संकेत पनि हो।

ABOUT

Body & Data is a movement that integrates feminism, Technology and internet right, gender and sexuality based in Nepal. We envision to creating free, open and just internet that respects autonomy of individual and upholds their dignity.

Body & Data is hosted by Vision for Change