संसारका सबै भाषाहरूले आफ्नो समाज र संस्कृतिको झल्को दिन्छ । भाषा, समाज र संस्कृतिको तादाम्य सम्बन्ध हुन्छ । भाषालाई सतही रूपमा सम्पर्कको माध्यम भनी बुझेपनि यो सम्पर्क माध्यममा अन्तर्निहित भाष्यहरू पनि हुन्छ । यी भाष्यहरू समाज पिच्छे नै फरक हुन्छ र ती सामाजिक वास्तविकताकै आधारमा त्यस भाषामा समपर्क हुन्छ ।

यसको अर्थ यो पनि हो कि समाजमा जरा गाडेका सम्पूर्ण मूल्य मान्यताहरू भाषा मार्फत झल्कन्छन् । यसैले उक्त समाजमा के विषय जाहिर (obvious) हो के होइन, के सामान्य हो के होइन, के समाविष्ट हुन्छन् के वहिष्करणमा पर्छन् भन्ने विषय पनि निर्धारण गर्छ ।

त्यसैले समाजमा व्यापक पितृसत्ता, महिलाद्वेषी (मिसोजिनी), द्वयसांखिक लैङ्गिक व्यवस्था (जेण्डर बाइनेरी), आन्तर्लिङ्गीमुग्धी (एण्डो-सेक्सिजम), त्याचलिङ्गीमुग्धी (सिस्-सेक्सिजम), विषमयौनिकमुग्धी (हेट्रोसेक्सिजम), सपाङ्गतामुग्धी (एबलिजम), जात व्यवस्था, जातीय विभेद, लगायतका सम्पूर्ण सामाजिक समानता पनि भाषामा झल्कन्छ । एकातर्फ यी विभिन्न सामाजिक असमानतामा विशेषाधिकार रहेका समूहहरूले बोलीचालीको भाषा मार्फत यी भाषाहरू सामान्यिकरण गर्दै रहन्छन् भने ती असमानतामा सिमान्कृत भएका समूहका निम्ति थप उत्पीडनको कारण । त्यसै गरी नेपाली भाषा विगत ३०० वर्ष देखि बहुभाषी देशमा एकमात्र औपचारिक कामकाजको भाषाका रूपमा स्थापित देवनागरी लिपिमा लेख्ने नेपाली भाषाको पनि आफ्नै वर्चस्व छ र यस भाषा माध्यम समाजका विभिन्न असमानताहरू संस्थागत समेत हुन सक्छन् ।त्यसै गरी नेपाली भाषा कस्तो हुनुपर्छ र कसरी लेखिनुपर्छ भनी गरिने निर्धारणमा पनि शक्तिको डाइनामिक्स रहेको हुन्छ । कसैले यो निर्णय गर्न पाउँछ, कसले यो निर्णय कोर्छ, को यी छलफलमा भाग लिन पाउँछन्, कसलाई विज्ञको रूपमा हेरिन्छ, कसको भाष्यले धेरै वजन पाउँछ, इत्यादी विषय पनि शक्तिको डाइनामिक्सकै विषय हो । को प्रमुख हुन्छ, को सहायक हुन्छ, को सामान्य हुन्छ, को असामान्य हुन्छ, को मुख्य हुन्छ, को अन्य हुन्छ, कुन कुरालाई स्वभाविक मानिन्छ, कुन कुरालाई अस्वभाविक मानिन्छ जस्ता विषयहरू पनि भाषामा झल्किन्छ र समाजमा व्याप्त असमानताहरूले यसको निर्धारणमा भूमिका निर्वाह गर्दछ ।

उदाहरणका लागि : समाजले लैङ्गिकतालाई महिला र पुरुषको द्वयसंख्या (बाइनेरी)मा हेर्छ । उक्त समाजमा व्यापक भाषाले पनि उक्त भाष्यमै संवाद, बोलीचाली र भाषिकतालाई निर्धारण गर्दछ । यस्तो द्वयसांखिक मान्यताले वहिष्करणमा परेका लैङ्गिकताहरूले समाजमा भोग्ने लाञ्छना, विभेद, अपवादिकरण, अन्यकरण, वहिष्करण र असमावेशिकरण पनि उक्त भाषिकतामा झल्कन्छ । त्यसले लैङ्गिकतालाई महिला र पुरुषको द्वयसंख्या (बाइनेरी)मा हेर्ने समाजको भाषामा रहेका त्यस्ता विशेषताहरूलाई लैङ्गिक विविधताको स्वीकार्यता र समावेशिता तर्फ लाग्दा तिलाञ्जली दिँदै स्वीकार्यता, समावेशिता, लाञ्छनामुक्त, विभेद रहित, अन्यकरण र अपवादिकरण नगरिने खालको भाषिक अभ्यासको सुरुवात अपरिहार्य छ ।

लैङ्गिक उत्पीडन लगायत विभिन्न सामाजिक उत्पीडनहरूको संवादमा र समाजिक न्यायको वकालत गर्दा उत्पीडनलाई सामान्यिकरण गर्ने भाषाको प्रयोग उचित हुँदैन । त्यसले झन ती सामाजिक भाष्यहरू पुनरुत्पादन र प्रोत्साहन हुने गर्दछ । तसर्थ सामाजिक न्यायको वकालतमा नेपाली भाषा सम्बन्धिका भाषागत मार्गदर्शनका निम्ति यो दस्तावेज बनेको हो ।

Docs संस्करणमा : विविधता समावेशी तथा सिमान्कृत वर्गलाई मैत्रीपूर्ण नेपाली भाषाको प्रयोग
PDF संस्करणमा :  विविधता समावेशी तथा सिमान्कृत वर्गलाई मैत्रीपूर्ण नेपाली भाषाको प्रयोग

यो स्रोत सामाग्री खुला उपयोगका निम्ति हो र जुनसुकै व्यक्ति वा संस्थाले बडी एण्ड डाटालाई सन्दर्भाधार (क्रेडिट) दिएर यसको प्रयोग गर्न सक्नेछन् । यस दस्तावेजलाई संगाल्नमा सहयोग गर्ने व्यक्ति रुक्शना कपालीलाई पनि हामी धन्यवाद ज्ञापन गर्दछौँ । अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी मार्गदर्शनमा सहयोग गरेका सरिता लामिछानेलाई पनि धन्यवाद ज्ञापन गर्दछौँ ।

en_USEnglish
ne_NPनेपाली en_USEnglish