लेखक – सानो प्रयास

 

आफ्नो कला देखाउन, कला बढाउन, ताली र प्रशंसाहरु पाउन सबैलाई मनपर्छ । सामाजिक संजालमा ध्यान आकर्षण गर्दै लाइक्स बढाउने र भाइरल हुन चाहनेहरु पनि छन्। टिक-टक, इन्स्टा, फेसबुक आदिमा विभिन्न प्रकारले कतिले मनोरञ्जन गर्छन् भने कतिले अभिनय गरेर देखाउँछन्। नाच्ने र क्यामेरा अगाडी प्रस्तुत गर्ने क्रममा कसैले सारी कसैले फरक फरक वस्त्र लगाएर विभिन्न पात्र बन्ने गर्दछन्। त्यो सब उनीहरुको आफ्नो मर्जीको कुरा हो ।

यस्तै-यस्तै रुचि हुनेहरु बिच एकताका टिक-टकमा धेरै केटीहरु सारी लगाएर नाच्ने ट्रेन्ड चलेको थियो। सारी र चोलो लगाएर पेटको केहि भाग देखाई नाचेको देखेर केहीलाई असहज हुन थाल्यो । उनीहरु मध्ये  कतिले रिसाउँदै, कतिले ब्यङ्ग हान्दै र कतिले सम्झाउदै बिभिन्न कमेन्टहरुको वर्षात् गरेका थिए। उक्त ट्रेन्ड हाम्रो “परम्परा”, “संस्कृति” अनि महिलामा हुनुपर्ने “असल स्वभाव” र “आचरण”को खिलाफ भएको केहीको दावी थियो ।अनि त्यहि विषयलाई लिएर परम्परा बचाउने नाउँमा ‘नम्र सुझाव’ दिएकाहरुको नि टिक-टक धेरैले मनपराएका थिए।

त्यसरी अरुलाई आचरण र स्वभावको सुझाव दिनेहरुले फेरी कसैको फोटो, भिडियो सङ्कलन गरि विभिन्न ग्रुपहरुमा मिम र ट्रोल भनि बाढेको कतिको देख्नु भएको छ? या अरुलाई मनोरंजन दिने नाममा कसैको  इच्छा या मन्जुरी बिपरित फोटो, भिडियो हामी आफै कति बाढ्ने गरेका छौ ? अझ प्रेमीहरूको आत्मीय या कामूक क्षणहरू रेकर्ड गर्दा अन्य व्यक्तिले बिभिन्न माध्यमबाट फेला पारेर फेसबुक, रेडित र अन्य सामाजिक संजालमा मनोरंजन भनि सेयर गर्ने त बिकराल समस्या छ ।

आफ्नो फोटो कसैले सेयर र ट्रोल नगरोस जस्तो लाग्छ भने, आफ्नो प्रोफाइलमा किन त्यस्तो फोटो राखेको त भनि प्रश्न गर्न कसैलाई जायज लाग्न सक्छ। या किन त्यस्तो कामुक भिडियो खिचेको त ? किन कसैसंग त्यस्तो व्यबहार गरेको त ? भन्नेहरु पनि हुन्छन् । त्यस्तो सोच्नेहरुले पहिले व्यक्तिको आफ्नो इच्छा या मन्जुरीको बिषयमा बुझुन ! कसरी व्यक्तिको आफ्नो शरीरमाथि आफ्नै नियन्त्रण र निर्णय हुन्छ र हुनुपर्छ भन्ने कुरा बुझुन् ।

अझ अचम्मको कुरा के छ भने, कसैको फोटो, भिडियो यता उताबाट उनीहरुले भेटे त्यसले उनीहरुलाई उत्तेजित बनाउछ । विभिन्न ‘काण्ड’ सम्बन्धित ग्रुपहरुमा बाड्न अलिकति पनि हिचकिचाउदैनन् । झिंगाले गुलियो मन पराए झैँ सबै ती सामग्रीमा झुमिन्छन्  त्यहाँ छि भन्ने कम नै हुन्छन् , उत्साहित र वाह वाही गर्ने धेरै हुन्छन् । तर त्यस्तै फोटो भिडियो हामीले आफै आफ्नो मर्जीले जिउ देखाएर खिच्दा र अपलोड गर्दा उनीहरुलाई रिस उठ्छ । अरुले हामीलाई कसरी हेर्छन् भनी बल्ल याद आउँछ। अनि प्रवचन दिन थाल्छन, संस्कृति र सभ्य ब्यबहारको ।

त्यस्ता व्यक्तिहरुले याद राखून, यदि कुनै नाबालिक/बच्चा वा कुनै बयस्क कै फोटो भिडियो दुरुपयोग भएको थाहा पाउदा केही गर्दैनौ, मनोरञ्जन लिन्छौ वा यस्तो कृयाकलापमा सामेल हुन्छौ भने हामीले आफ्नै मर्जीले आफै केही तस्विर र भिडियो सामाजिक संजालमा राख्दा मात्र हाम्रो सुरक्षा, संस्कृति र खराब प्रभावबारे कुरा गर्न सुहाउँदैन।

यसले त त्यस्ता व्यक्तिहरुको ढोंग देखाउँछ। उनीहरुलाई समस्या हामीले कति जिउ देखाउछौं र कति ढाक्छौं भन्ने कुरामा होइन, हाम्रो स्वतन्त्रा, मर्जी र मन्जुरीमा रहेछ भन्ने बुझिन्छ । हामीले कसैको ध्यान आकर्षण गर्न र मनोरंजनको लागि नभई, आफुलाई स्वतन्त्र तरिकाले व्यक्त गर्न आफ्नो फोटो/भिडियो राख्दा हामीले कसरी छाडापन फैलाएको हुन्छौँ र? आफ्नो आजादी आफ्नै तरिकाले प्रयोग गर्दा, त्यसको हकदार र स्वयमैले त्यसको नियनत्रण गर्दा हामी किन “बिग्रेको केटी “?

 

 

 

यदि कसैले अरुको लुगा र जिउ नाप-तौल गरि आचरण निर्धारित गर्छ, खराब नियतले हेर्छ र यस कारणले कसैलाई व्यक्तिगत हानी जस्तै बलात्कार, एसिड आक्रमणको वा ज्यान लिने धम्की दिन्छ, जिउमा र यौनिकतामा असभ्य टिप्पणी गर्ने जस्ता अपराधमा संग्लन्न हुन्छ भने, उ बलात्कार संस्कृतिको पाटो हो भनी बुझ्नुपर्छ। महिलाहरुलाई यस्तो लुगा लगाउ, यस्तो नलगाउ भनेर नियन्त्रण गर्न धेरै सजिलो छ तर पुरुषहरुलाई अरुलाई चोट नपुर्याउ, हानी नगर अरुको मन्जुरीको सम्मान गर आदि कुराहरु सिकाउन किन यति मुस्किल?

शरीरको कुनै खास अंग जस्तै पेट, ढाड, तिघ्रा, छाती र यौनांगहरुसंग हाम्रो चरित्र जोड्ने र इज्जतको भार बोकाउने घर–समाजको सोच नै दयनीय छ । फेरि जे गरे पनि सजिलै  गुम्न सक्ने त्यस्तो इज्जत हामीले किन जानी-जानी आफ्नो जिउमा राख्ने ? आफ्नो लाज-शरम पचाई, अरुको मन्जुरी र आत्मसम्मानको बारे अलिकति पनि ख्याल नगरी या नहिच्कीचाइ हात लगाउन सक्नेहरु भएको समाजमा हामीले यो इज्जत हाम्रो शरीरमा किन राख्ने ? हामी हाम्रो जिउमा त्यस्तो लाज र शरम कदापि राख्ने छैनौ ।

संगत संस्थाकी संस्थापक कमला भासिनले एक प्रचलित अन्तरवार्तामा भनेकी थिइन् , “यदि म बलत्कृत भए मेरो सम्मान गुम्दैन, बलात्कार गर्ने बलात्कारीले सम्मान गुमाउँछ।” भन्नु भए जस्तै, कसैले दुर्ब्यबहारपूर्ण तवरले नियाल्दा वा दुईचार अपशब्द बोल्दा हाम्रो चरित्रमाथि प्रश्न पनि उठ्दैन । कसैले निच सोच व्यक्त गर्दैमा हामी चरित्रहीन बन्दैनम न त यसरी हाम्रो सम्मान नै खस्किन्छ।

अर्को बिडम्बना छ निजी र यौनिक अंगहरुलाई अश्लील चित्र भनी हाम्रो कानुन मै तोकिनु ! ती किन नग्न या नीजि चित्र हुन सकेनन् ? किन अश्लील नै भनेर तोकियो ? बेलायतको साइबरफ्लाशिंग कानुन अनुसार आफ्नो यौन सन्तुष्टिको उदेश्यले कुनै व्यक्तिको गुप्ताङ्गको फोटो वा फिल्म अर्को व्यक्तिलाई पठाउनेलाई सजाय तोकिएको छ। उक्त कानुन अनुसार व्यक्तिको अंगलाई जे हो त्यहि अर्थात गुप्तांग कै रुपमा उल्लेख गरिएको छ । हाम्रोमा जस्तो अश्लिल (vulgar), अशोभनिय (indecent), जस्ता शब्दहरु उल्लेख गरिएको भए कस्तो सुनिन्थ्यो होला ? पक्कै पनि अस्पस्ट र अनुपयुक्त सुनिन्थ्यो ।  त्यस्तै गरि हाम्रो नियमहरूमा पनि ‘अश्लील चित्र’ भन्दा अस्पस्ट सुनिन्छ र ‘अश्लील’ भन्दा कानुनले आफै हाम्रो आफ्नै शरीरको अपमान गर्न सिकाइरहेको छ। यसबारे गहन विचार र छलफल गर्न महत्वपुर्ण छ।

 

Blogger who talks about gender-based violence and body insecurities through writing and designing.