लेखकः वर्षा बराल
यो लेख अंग्रेजीबाट नेपालीमा अनुवाद भएको हो | यो लेख अंग्रेजीमा पढ्न यता
अनुवाद: बिभु लुइँटेल
इन्टरनेट र उन्नत प्रविधिको विकासले पारम्परिक सञ्चारलाई नयाँ खालको सञ्चारतर्फ डोहोर्याउन प्रशस्तै बाटो खोलेको छ । नयाँ सञ्चार विधिको विकासशील रुप हो मोबाइल पत्रकारिता । यसका लागि पत्रकारिताको शैक्षिक पृष्ठभूमि आवश्यक पनि छैन । नेटवर्क जडित कुनै पनि स्मार्टफोन वा बोकेर हिँड्न सकिने इलेक्ट्रोनिक उपकरणका प्रयोगले जोसुकैले पनि सूचना संग्रह र प्रसार गर्न सक्छ । यस पद्धतिले नागरिक पत्रकारिताको शिलशिलालाई अझ प्रोत्साहन दिएको छ । आफ्ना समुदायका मुद्दा रिपोर्ट गर्न नेपालमा सामुदायिक रेडियो कार्यक्रमको प्रयोग गरिएका दृष्टान्तमा नागरिक पत्रकारिता देख्न सकिन्छ । स्मार्टफोनको सर्वव्यापकता र इन्टरनेटको पहुँचले पत्रकारितालाई सन् २००० को सुरु वा बीचतिर एक लोकप्रिय प्रवृत्ति बनाइदिएको छ । आजका दिनमा इन्टरनेट र प्रबिधिको प्रयोग गरी पत्रकारिताका उपभोक्तामाझ सूचना सम्प्रेषण गर्ने सामान्य व्यक्तिलाई पनि नागरिक पत्रकार भन्न सकिन्छ । ‘पहिले–पहिले दर्शक भनिने व्यक्तिले सञ्चार प्रविधि प्रयोग गर्छन् भने तीसँग एकअर्कालाई सुचित गर्ने सामर्थ्य हुन्छ । त्यही हो नागरिक पत्रकारिता,’ न्यूयोर्क विश्वविद्यालयका पत्रकारिताका प्राध्यापक जे रोसेन भन्छन् । तथापि, यो एक यस्तो विचार हो जसले व्यक्तिहरुलाई आफू वरपरका घटनाको जाँच गर्नका निम्ति प्रोत्साहित गर्छन्, विशाल परिप्रेक्षमा हेर्दा यसले सामाजिक हितलाई प्रभावित गरिरहेको हुन्छ । बढिरहेका डिजिटल मिडिया देख्दा लाग्छ, पत्रकारिताको भविष्य नै नागरिक पत्रकारिता हो । समकालीन सन्दर्भमा डिजिटल लोकतान्त्रिकरणको बढ्दो अवस्थामा नागरिक पत्रकारिता पनि फस्टाइरहेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । यहाँ डिजिटल लोकतान्त्रिकरण भन्नाले प्रविधिको लोकतान्त्रिकरण भनी बुझ्नुपर्छ, जसले संकेत गरेअनुसार प्रविधिसम्मको पहुँच तीव्र गतिमा धेरैभन्दा धेरैका लागि सुलभ हुँदै गइरहेको छ। वैश्वीकरणको युग प्रविधि, अर्थव्यवस्था र सूचनाको लोकतान्त्रिकरणमा निर्भर रहने तर्क ‘द लेक्सस् एन्ड द अलिभ ट्रिः अन्डस्र्यान्डिङ ग्लोबलाइजेसन’ पुस्तकका लेखक टमस फ्रिडम्यान गर्छन् ।
नागरिक पत्रकारिता किन महत्वपूर्ण छ ?
डिजिटल माध्यमहरुले उपयोगकर्तालाई आफ्नो जानकारी प्रसारित गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्छन् । व्यक्तिले यसरी सूचना प्रशोधन गर्ने प्रक्रिया एक बटम–अप दृष्टिकोण हो । तर त्यसै समयमा जब यी माध्यमहरुको प्रयोग मूलधारका सञ्चार गृहले सूचना प्रशोधन गर्न प्रयोग गरेका खण्डमा भने त्यो टप–डाउन विधि हो । संक्षेपमा भन्नु पर्दा नागरिक पत्रकारिताका कारण सूचना सम्प्रेषणको प्रक्रिया विकेन्द्रीकृत भइरहेको छ, जुन यसका उपादेयतामध्ये एक हो । दक्षिणपूर्वी एसियामा प्राकृतिक प्रकोपका समयमा राज्य र समुदायहरुलाई सचेतताको सन्देश पठाउन नागरिक पत्रकारिता कति महत्वपूर्ण साबित भयो भनी हामी हेर्न सक्छौँ । नेपालका सन्दर्भमा हेर्दा आफ्ना यात्राका क्रममा सामाजिक अभियन्ता अमृता लम्सालले भत्किएका बाटाका तस्बिर फेसबुकमा साझा गरे । यसले सरकारी अधिकारीको ध्यानाकार्षण गर्यो ।
तथापि, नेपालमा नागरिक पत्रकारिताको अभ्यास गर्ने क्रममा धेरैपटक इन्टरनेटको दुरुपयोग गरिएको छ । युट्युब र फेसबुकका अधिकांश नेपाली सामग्री क्लिकबेट शैलीका हुन्छन्, जसले दुःखको मूल्यलाई पूँजीकरण गरेर व्यक्तिगत लाभ लिने ध्येयले गलत र भ्रामक सूचना फैलाइरहेका हुन्छन् । आफूले देखेअनुसार म आफ्नी आमाको उदाहरण पेश गर्न चाहन्छु । समाचार र अन्य सूचना प्राप्त गर्न उहाँ फेसबुक, युट्युब र टिकटक प्रयोग गर्नहुन्छ । कहिलेकाहीँ उहाँले यस्ता भिडियो हेरेको पाउँछु, जुन मेरा लागि कष्टप्रद वा दिक्क लाग्दा हुन्छन् । केही भिडियो हेरेर उहाँ आँशु पनि झार्नुहुन्छ । कोरोना भाइरसबाट बच्ने तरिकाबारे विश्वसनीय खबर प्राप्त नगरेको र कोभिड महामारीको सुरुआती चरणमा उहाँ गलत सूचनाको सिकार भएको मैले महसुस गरेँ । अधिक चिन्ता र अनिश्चितताको त्यस्तो समयमा गलत तथा भ्रामक समाचार निकै तीव्रताका साथ फैलन्छ । यस्ता सामग्रीका कारण नागरिक पत्रकारिताको सारको गलत अर्थ लाग्ने र अनेकौँ प्रभाव पर्न जाने हुन्छ । आमसञ्चारका सामग्रीको शक्तिले हाम्रो समुदायमा विविध धारणा निर्माण गर्ने तथ्य पाठकले स्वीकार गरुन् भन्ने म चाहन्छु । आमसञ्चारका लागि नागरिक पत्रकारिताले ‘हाइपोडर्मिक निडल अप्रोच’ लिन्छ । यस दृष्टिकोणका अनुसार आमसञ्चारका माध्यमबाट सम्प्रेषण गरिएका सूचनाले सबै व्यक्तिलाई समान तरिकाले बलियो प्रभाव पार्छ र उक्त सुचनाको प्रतिक्रिया कसरी दिने भन्ने नियन्त्रण सुचना लिने मान्छेसँग रहदैन । नागरिक पत्रकारिताका यस्ता प्रभावले यसका लाभलाई ओझेलमा पारिदिन्छन् ।
के हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा नागरिक पत्रकारिता सही तरिकामा भइरहेको छ ?
द हिमालयन टाइम्सका अनुसार नेपाली नागरिकहरुको डिजिटल साक्षरता केबल ३१ प्रतिशत रहेको छ, जसले सूचना छान्ने र तथ्य जाँच गर्ने प्रक्रियाका लागि आवश्यक महत्वपूर्ण संख्याको कमी दर्साउँछ । सानो संख्याका मानिसले मात्र सही जानकारीको उपभोग गरेका छन् । यसले एक ‘सूचना बबल’ को सिर्जना गरिरहेको हुन्छ । तर, कसरी ? सूत्रबन्धित सञ्चार सामग्रीले दर्शकको विखण्डनलाई प्रेरित गर्छन् । यस्तो विखण्डनले सूचनाको बबल निर्माणमा सहयोग गर्छ । न्यूनतम डिजिटल साक्षर समूहमा भ्रामक समाचार र गलत सूचनाका उपभोग गर्नका लागि यी बबलले गति लिन्छन् र कहिलेकाहीँ राजनीतिक अथवा धार्मिक अतिवादमा समेत परिणत हुन्छन् । अन्य अन्तर्राष्ट्रिय मिडियामा जस्तो नेपाली मूलधारे मिडियामा नागरिक पत्रकारिताका लागि छुट्टै स्थान निर्धारण गरिएको पाइँदैन । इन्टरनेट र प्रविधिप्रतिको झुकावले नागरिक पत्रकारिताको अवधारणामा गलत प्रतिनिधित्व गरेको देखिन्छ ।
कसैको गोपनियताको अधिकारमाथि हमला गरेर लोकप्रियता हासिल गर्नका लागि भिडियो लिने पत्रकारिताको अभ्यास गर्ने युट्युबरका कार्य पूर्णरुपले अनैतिक छन् । एकतर्फ भ्युज वा पैसा कमाउन युट्युबरले क्लिकबेट सामग्री निर्माण गर्ने गरेका छन् भने अर्कातर्फ व्यक्तिले आफ्नो अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत यी माध्यमको प्रयोग गरेर सूचना सम्प्रेषण गर्ने गरेका छन् । स्वतन्त्र मन्तव्य तथा भ्रामक सूचनाको व्यापक विषय बहसयोग्य नै छ ।
यसका साथै, संसारभर राज्य र प्राधिकारीले यस मध्यमार्गलाई पुँजीकरण गरेका छन्– अनलाइन सूचनाको सामना गर्ने बहानामा व्यक्तिका अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्न जान्छ, जसका कारण राज्यले नागरिकमाथि निगरानी राख्ने क्रममा पनि वृद्धि हुने अवसर पैदा हुन्छ । नेपाल सरकारद्वारा ल्याइएका विभिन्न विधेयक र निर्देशिकाका माध्यमबाट अनलाइन सामग्रीको नियमन र सेन्सरसिप लागू गर्ने तिनको उद्देश्य स्पष्ट देखिन्छ । अझै हेर्दै जाँदा भ्रामक अनलाइन सामग्री सन्तुलनका लागि सामाजिक सञ्जाल र डिजिटल माध्यमले हरसम्भव प्रयास गरिरहेको देखिन्छ भने यौनअन्वेषण गर्न इच्छुक तथा अनलाइन माध्यममा यौन सामग्री निर्माण गर्ने महिला, क्वेयर र अन्य सिमान्तकृत समुदायमाथि प्रभाव पारेको पनि देखिन्छ । कसरी नागरिक पत्रकारिताको मानसलाई गलत अथ्र्याइन्छ र यस अनिश्चिनताले व्यापक परिणाम ल्याउने गर्छ भनी यस दृष्टान्तले देखाउँछ ।
यसबाहेक आवाज नभएकालाई आवाज प्रदान गर्न नागरिक पत्रकारिता हाम्रो समाजको अभिन्न हिस्सा बनेको छ । इतिहास हेर्ने हो भने सञ्चार संस्था र व्यक्ति विशेषबीच शक्तिको असन्तुलन रहेको देखिन्छ । हामी किन ठूला सञ्चार संस्थाले सम्प्रेषण गरेका सूचना विश्वसनीय मान्छौँ र कुनै व्यक्ति विशेषले सोही गरेका खण्डमा विश्वसनीय मान्दैनौँ ? इन्टरनेटका कारण सामग्री निर्माणमा आएको लोकतान्त्रिकरणले अनेकौँ कथा र वर्णनलाई अगाडि आउने स्थान निर्माण गरिदिएको छ– चाहे ती आफ्ना परम्परा प्रदर्शन गर्ने आदिवासी समुदायका टिकटक भिडियो होऊन्, वा आन्दोलनरत हङकङमा डिजिटल सुरक्षाका निम्ति अभियन्ताहरुले गरेको ट्वीटरको प्रयोग नै होओस्, वा आफूलाई मन पर्ने पकवान पकाइरहेका नेपाली महिलाका साना युट्युब च्यानल नै होऊन् । हामी वरपरका सामाजिक संरचनाका कारण पहिले अगाडि नआउने विविध सामग्री अहिले इन्टरनेटमा छरिएर रहेको अवस्थामा भेटिने गरेका छन् ।
यति हुँदाहुँदै पनि नागरिक पत्रकारिताले प्रदान गर्ने अभिव्यक्ति स्वतन्त्रता र अनलाइन सामग्री निर्माणको शक्तिलाई दुरुपयोग भने गरिनु हुँदैन । उदाहरणका लागि तपाईँले सडकमा एउटा दुर्घटना देख्नुभयो र त्यसको तस्बिर लिएर आफ्नो सामाजिक सञ्जालमा साझा गरिहाल्नुभयो । अब के यो रिपोर्टिङलाई नागरिक पत्रकारिता मान्ने ? अवश्य, यो पनि नागरिक पत्रकारिता नै हो । सोही अवस्थामा पत्रकारिताले तपाईँलाई दुर्घटनास्थलमा पीडितलाई कमजोर देखाउने तस्बिर भने लिन दिँदैन । कसैको निजी दुःखका समयमा त्यसको तस्बिर उतार्न हुँदैन । यसका साथै सिंगो स्थितिमै फेरबदल आएको देखाउने तरिकाले तस्बिर वा भिडियो खिच्न पनि हुँदैन । एकातर्फ नागरिक पत्रकारिताअन्र्ततका यस्ता कार्य पत्रकारिताका आचारसंहिताविरुद्ध छन् भने अर्कातर्फ अनलाइन माध्यममा फैलिएका गलत तथा भ्रामक सूचनाले व्यक्तिको सूचनाको हक, सामग्री निर्माणको स्वतन्त्रता, अनलाइन माध्यममा आफू भएर देखा पर्न पाउने अधिकार तथा सेन्सरसिप र निगरानीबाट मुक्तिमा बाधा पुर्याउने देखिन्छ । सावधान र संवेदनशील नभएमा नागरिक पत्रकारिताका खतराले यसका फाइदालाई छायाँमा पारिदिन्छन् । हामीले अनलाइन माध्यममा उपभोग गर्ने जानकारीको विश्वसनीयतामाथि जाँच गर्नुका साथसाथै हामी आफैँले उत्पादन गर्ने सामग्रीबारे पनि थप जागरुक हुन आवश्यक छ ।