हामीकहाँ सम्बन्धमा ‘कन्सेन्ट’ अर्थात् सहमति र मञ्जुरीका कुरा त्यति बहसमा आउने गर्दैन । प्रेम सम्बन्धलाई त्यति खुला रूपमा नस्वीकार्ने र यौनलाई अश्लील मानिने हुँदा यस्ता विषयको बहस घोषित/अघोषित रूपमा सतहमा आउन पाएको छैन । त्यसो त व्यक्ति–व्यक्तिबीच असमान शक्ति सम्बन्ध भएको हाम्रो समाजमा सहमतिको नियमलाई पालन गरी आफूमा निहित शक्ति बाँड्न को तयार होस् र मञ्जुरीका कुराले सम्बन्धमा स्थान पाउन् ? त्यसमा पनि अनलाइनमार्फत निर्वाह गरिने सम्बन्धमा मञ्जुरीका कुरा उठ्नु त अझ परको विषय हो । तर सोच्दा सानो लागे पनि यी विषय महत्त्वपूर्ण छन् र सबैले यसको ख्याल गरेमा इन्टरनेट सबैका लागि सहज र सुरक्षित स्थान बन्न सक्छ ।

अनलाइनमा मञ्जुरीका कुरा गर्दा केही उदाहरण हेरौं । जस्तो– हामी इन्टरनेटको दुनियाँमा दैनिक सयर गरिरहेका हुन्छौं । कोही काम विशेषले, कोही मनोरञ्जन वा कोही ज्ञानगुनका कुरा सिक्न । यस्तो बेला साथीहरूले हामीलाई हत्त न पत्त अनलाइन देखेर अडियो वा भिडियो कल गर्छन् ।

उनीहरू आफूले सम्पर्क गर्न चाहेको व्यक्ति के गर्दैछ ? कुन हालतमा हुन सक्ला ? त्यतिबेला उसलाई कुरा गर्ने इच्छा हुन सक्ला वा नसक्ला ? वा ती व्यक्ति अडियो/भिडियोमा सहज छ वा छैन आदि केही कुराको ख्याल गर्दैनन् । त्यस्तै कोही व्यक्ति तपाईंसँग भर्खर फेसबुक वा भाइवरमा जोडिएको छ । तपाईंलाई उसको इच्छा बमोजिम जतिबेला मन लाग्यो कल गर्छ । तपाईंलाई त्यो व्यक्ति मनपर्छ वा काम लाग्न पनि हुनसक्छ । तर उसका व्यवहारले तपाई हैरान हुनुभएको छ । अब के गर्ने ?

केही समयअघि यस्तै भयो । साथीहरूले हाइ–हेल्लो भन्नलाई नै कल गरेका थिए । तर म आफूलाई क्यामेरा वा भ्वाइसमैत्री ठान्दिन । त्यस्ता कलहरू म अफिसियल बाहेक सकेसम्म उठाउँदै उठाउँदिन । पछि मैले आपत्ति जनाउँदै तिमीहरू किन त्यसरी अकस्मात कल गर्छौ भन्दै म्यासेज लेखेँ । उनीहरूले मेरो आपत्तिको गहिराई बुझ्दै बुझेनन् । एउटाले भने, ‘के भो त कल गर्दा ?’

अर्कोले ए, कल नगर्नु पर्नेथ्यो ? लौ अबदेखि नगरौंला नि भनेर घुर्क्यायो । मेरो मतलब त्यो थिएन । सकेसम्म त म व्यक्तिले आफ्नो सहजता अनुसार म्यासेज हेरोस् र जवाफ पठाओस् भनी टेक्सट म्यासेजमै कुरा गर्छु । अपर्झट परेका बेला फोनमा कुरा गर्ने हो भने फुर्सद छ/छैन, कुराकानी गर्न मिल्छ/मिल्दैन अनुमति लिएर मात्र गर्छु । र म आफूमाथि पनि त्यस्तै व्यवहारको अपेक्षा गर्छु । जुन विरलै मात्र भेटिन्छ । त्यसैले हरसम्भव यस्तो जबर्जस्तीबाट बच्ने उपाय लगाउने गर्छु । तर पनि आफूले केही गल्ती गरेकै जस्तो भाग्दै, लुक्दै हिँड्नुमा हैरानी त हुन्छ नै ।

यस्ता व्यवहारको सिकार साधारणतया सबै हुन सक्छन् । तर हाम्रो समाजको शक्ति संरचना र प्रचलनका कारण महिला र अल्पसंख्यकहरू बढी प्रभावित छन् । कुराकानीको सुरुवात नगर्दै अकस्मात उनीहरूको इनबक्समा आउने अप्रत्यासित पुरुष यौनाङ्गका फोटाहरू कैयौं उदाहरण मध्येको एक हो ।

दुबैको मञ्जुरीमा त्यस्ता फोटाहरू सेयर गर्ने हो भने कुनै पक्षलाई पनि आफ्नो अपमान भएको महसुस हुँदैन होला । बरु ती क्षण सुखमय बन्छन् होला । बस्, यसमा दुबैको सहमति हुनुपर्‍यो । फेरि एक पटकको सहमति पटक–पटकका लागि हुँदै होइन भन्ने पनि बुझ्नुपर्छ । सहमतिको हरेकपटक ख्याल गरिनुपर्छ । तर माथिका घटनामा दोस्रो व्यक्तिको मञ्जुरीको बेवास्ता गरिएकोप्रस्टै देखिन्छ ।

कतिले इन्टरनेट भित्र (अनलाइन) र इन्टरनेट बाहिरको (अफलाइन) दुनियाँ अलग–अलग मान्ने गर्छन् । कति हिसाबमा यी दुई अलग पनि हुन् । तर मानवीय व्यवहार झल्किने क्रममा यो भिन्नता यहींनिर आएर नामेट हुन्छ । अफलाइन दुनियाँमा हामीमध्ये कति अस्तव्यस्त छौं । साथीको कपडा/व्याग/जुत्ता उसलाई नसोधीकनै प्रयोग गर्नु त साधारण हो ।

उसले आपत्ति जनायो भने ह्या कस्तो खाइदिने जस्तो गर्छ यार फिर्ता गर्दिहाल्छु नि भनेर उल्टो घुर्क्याइन्छ । कसैलाई इच्छा होस्/नहोस्, जबर्जस्ती मद्यपानका लागि कर गरिएको पनि प्रशस्तै देखिएकै हो । हामीलाई लाग्छ, साथी हो यति त चलिहाल्छ नि । साथीको लागि त्यति पनि नगरिदिने ? यही घम्साघम्सीमा कसैको व्यक्तिगत घेराभित्र पसी उसको सहमतिलाई हामी कुल्चिन पुग्छौं ।

त्यस्तै अफलाइनका व्यवहार नै अनलाइनमा झल्किने हो ।

अरुको होइन, आफ्नो अनुकूलता र इच्छा बमोजिम मात्र चल्न खोज्दा अनलाइन र अफलाइन दुबै स्थानमा हामी अनुमति वा मञ्जुरीका कुरालाई कुल्चिन्छौं । त्यसो गर्नु भनेको जानी/नजानी अरुमाथि हिंसा गर्नु हो । यसरी धेरै कारणमध्ये मञ्जुरी विना पनि अनलाइन हिंसा भइरहेका छन् । फलस्वरुप इन्टरनेटमा गलत मान्छे छन् । तिमीहरूमाथि शोषण, अपमान वा हिंसा हुनसक्छ भन्ने कारण देखाई महिला र अल्पसंख्यहरूमाथि उनीहरूका आफन्त परिवारजनबाट इन्टरनेट चलाउनमै बन्देज लाग्न सक्छ ।

इन्टरनेट आज ज्ञान र सूचनाको स्रोत हो । यो शक्तिको पनि स्रोत हो । कुनै समुदायलाई इन्टरनेटको दुनियाँबाट बञ्चित गरिनु भनेको उनीहरूलाई महत्त्वपूर्ण स्रोतबाट बञ्चित गरिनु हो । यसर्थ हामीले इन्टरनेटको दुनियाँलाई सुरक्षित र मर्यादित बनाई सबैलाई त्यसमा सहज पहुँच मिल्न सक्ने वातावरण तयार गर्नुपर्ने हुन्छ । जसको सुरुवात अनलाइनमा अरुका सहमति/ मञ्जुरीको कदर गरेर गर्न सकिन्छ ।

रीता बरामुद्वारा लिखित

कान्तिपुरमा पहिले प्रकाशित भएको

en_USEnglish
ne_NPनेपाली en_USEnglish