डेटा गोपनीयता/अनलाइन सुरक्षा
मेटाले आफ्नो सोसल मिडिया प्लाटर्फमहरु फेसबुक र इन्स्टाग्राममा Link History नामक नयाँ फिचर ल्याएको छ । प्रयोगकर्तालाई लक्षित विज्ञापन (personalised ads) देखाउनका लागि भनिएपनि यसले प्रयोगकर्ताको डेटा थप संकलन गर्छ । प्रयोगकर्ताले यसलाई बन्द पनि गर्न सक्छन् तर एपमा डिफल्ट रुपमा यो फिचर खुल्ला रहेको हुन्छ । प्रविधिमा प्रयोगकर्ताको गोपनियतालाई मजबूत बनाइनुपर्छ भन्ने आवश्यकता रहँदा मेटाले भने प्रयोगकर्ताका डेटा जम्मा गर्नका लागि नयाँ नयाँ तरिकाहरु खोजी रहन्छ । मेटालाई प्रयोगकर्ताका डाटा ट्रयाक गर्ने गरेको आरोप लाग्छ । अर्को तर्फ, क्रोमको इन्कग्निटो मोडमा पनि डेटा संकलन गर्ने गरेको तर प्रयोगकर्तालाई जानकारी नगराएको गूगलले स्वीकारेको छ । यी दुइटैलगायतका टेक जाइन्ट्सले प्रयोगकर्ताको डेटाप्रति संवेदनशील नभएको देखिन्छ । अनलाईन प्रविधि प्रयोगकर्ताको गोपनीयताकाे हक अन्तर्गत आफ्नो के, कती र कस्तो डेटा कहाँ कसरी र कतिको प्रयोग गर्न दिने अख्तियार प्रयोगकर्तासँग हुँदैन । यसमा कम्पनीहरु जवाफदेही हुनुपर्छ ।
महिला दिवस
मार्चलाई महिला इतिहास महिनाको रूपमा विश्वभरि मनाइन्छ । मार्च ८ काे दिन महिला दिवस पर्छ । यसपालीको थीम “Invest In Women: Accelerate progress”। यही थीमअन्तर्गत सोही दिन महिलालाई सूचना तथा सञ्चार प्रविधिमा प्रोत्साहन गर्न ‘Invest In Her: Men as Co-Partners To Empower Women in ICT’ Conclave आयोजना भयो । यसइतर न्युज मिडियामा कुनै पनि discourse/छलफल देखिएन ।
डिजिटल नेपाल/ई-गभर्नेन्स
डिजिटल राइट्स नेपाल लगायतका ३५ ओटा सङ्घसंस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनवरी महिनामा बहसमा ल्याएको सामाजिक सञ्जाल प्रयोग तथा नियमन सम्बन्धी विधेयक मस्यौदा नै खारेज गर्नुपर्ने माग थियो । यसले नेपाली नागरिकको संविधान तथा कानूनले दिएको सुरक्षित इन्टरनेट स्वतन्त्रता, डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, डेटा सुरक्षा र फौजदारी न्यायको हक लगायतका विषयमा अपुरणीय क्षति हुने भन्दै यस्तो माग अघि सारियो । यस मस्यौदाले नागरिक अधिकारलाई सङ्कुचन गर्ने र कानूनी प्रबन्धको बर्तमान आवश्यकतालाई सम्बोधन नगर्ने भनिएको थियो ।
नेपालमा दृष्टिविहिन व्यक्तिले डिजिटल बैंकिङ सर्भिसहरु प्रयोग गर्न संघर्ष गर्नुपर्छ । बैंकले विभिन्न वित्तीय सुरक्षा कारण देखाउँदै र बैंक नीतिको हवाला दिँदै दृष्टिविहिनलाई बैंक अकाउन्ट खोल्नसमेत पनि एक जना आँखा देख्न सक्ने व्यक्ति साक्षी बस्नुपर्ने हुन्छ । त्यस इतर ब्रेल लिपि र दृष्टिविहिन व्यक्तिमैत्री मोबाइल चलाउने सफ्टवेयर (जसबाट स्क्रीन अफ गरेर पनि मोबाइल चलाउन सकिन्छ) जस्ता प्रविधि प्रयोगमा आइसकेको हुँदा पनि बैंकिङ सर्भिसहरुबाट वञ्चित गराउनुले प्रविधिमा अपाङ्गता भएका व्यक्ति बहिष्करणमा पर्छन्, अरु व्यक्तिमा आश्रित हुन्छन् र थप सीमान्तकृत हुँदै जान्छन् । डिजिटल बैंकिङ अपाङ्गता भएका व्यक्तिमैत्री, खासगरी यस सन्दर्भमा दृष्टिविहिन व्यक्तिमैत्री, बनाउनुपर्नेमा जोड दिन आवश्यक छ ।
नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सेवा सुरू भयो । जसले गर्दा भारतीय प्रयोगकर्ताले नेपालमा कुनै सेवा वा खरिदी बापतकाे भुक्तानी भारतीय UPI काे QR scan बाट गर्न सक्छ । त्यस्तै नेपाली प्रयोगकर्ताले डिजिटल वालेट र मोबाइल बैंकिङकाे QR scan बाट भारतमा भुक्तानी गर्न सक्छ । यसो हुँदा प्रयोगकर्ताको डेटा सुरक्षाकाे प्रश्न उठ्न सक्छ । नेपालमा प्रायः जसो साइबर आक्रमण तथा डेटा चोरी भइरहेको हुन्छ र भारतमा हुने डेटा लिक (जस्तै केही महिना पहिले भएको आधारकार्डकाे विवरण लिक), यसले साइबर सुरक्षामा काम गर्न बाँकी नै छ भन्ने सूचित गर्छ । अहिले अनलाईनमार्फत वित्तीय ठगी हुने क्रम बढेको छ । क्रसबोर्डर हुने भुक्तानीसँगै साटिने व्यक्तिगत विवरणलाई (खासगरी मोबाइल नं जुन बैंक अकाउन्टसँग लिंक भएको हुन सक्छ) साइबर सुरक्षा प्रदान गर्नुतिर सरोकारवालाको ध्यानाकर्षण गराउन जरुरी छ ।