राधिका परियार

 

मैले फेसबुक चलाउन थालेको सन् २०१३ हो, जति बेला नाम राधिका कार्की राखे । मैले किन कार्की राखे भन्ने कुरा हिमाल खबरमा प्रकाशित लेखमास्पष्ट पारेकि छु । सन् २०१५ देखि २०१९ सम्म मैले राधिका मात्र राखेर चलाए, त्यो समय नाम पछाडिको थर सोध्नेहरुको हरेक दिन लाइन नै हुन्थ्यो । धेरैलाई म के जातको जस्तो लाग्छ र भनि प्रश्न गर्दा उत्तर दिनेहरु नेवार र बाहुन समुदायको थर पटक –पटक दोहोर्याउनु हुन्थ्यो । हरेक दिन गरिने प्रश्नको उत्तरले मलाई मानसिक थकान र तनाव सँगै बढ्दै गयो । त्यसपछि मैले सामाजिक सञ्जालमा अर्कै पहिचान र नाम राखे जुन अहिले सम्म पनि त्यहि छ, जात विहीन, रङ्ग विहिन र लैङ्गिकता बिरोधि, त्यसैले “अजात काधिरा” । तर अझै पनि मलाई गरिने प्रश्न भने त्यहि नै छ । म त परियार थरको हो नि भन्दा तिमी त त्यस्तो देखिन्नौ नि, तिमीलाई यो जातको भन्न त सुहाउदैननि अझै भन्नुहुन्छ । कतिले त थर थाहा पाइसकेपछि डिजिटल ह्यारेसमेन्ट नै गरेका केहि घटनाहरु अझै दिमागमा ताजै छन् ।

भरखरै दशैं भन्दा अगाडि, सँगै स्कुल पढेको साथिले चिया खाने समय मिलाउन भन्दै म्यासेन्जरबाटै अनुरोध गरे। मैले पनि दशैंमा घर नै आउ चिया खान भने उनले मेरो प्रतिकृयालाई हाँसेर टारिदिए उनी हास्नुको एउटै कारण थियो उनी बाहुन भएकै कारण मेरो घरमा खादैनन् । त्यस्तै, हालसालै फेसबुकमा जोडिन आउनु भएका नयाँ साथिले मलाई पटक पटक हामी भेटौन भने । मैले हुन्छ भेटौँला नि भन्दै गर्दा उनले प्रश्न गरे अजात काधिरा भनेको के हो? त्यसको उत्तर मैले हिमाल खबरकै लिंकलाई पठाइ यो पढ्नुस है अनि म को हो? भन्ने थाहा हुन्छ भने, उनले पढिसकेपछि मलाई फेरि उही साथिको म्यासेज आयो, सरि है मलाई थाहै भएन । त्यस दिन देखि उनले मलाई भेटौ भनि अनुरोध गरेनन् आज भोली उनी म सँग बोलेका छैनन् । ती साथिमा जात प्रतिको जरा राम्रै गडेको रहेछ भन्ने लाग्यो , यदि उनले जात व्यवस्थालाई नै यदि नमान्ने हो भने उनी सरी भन्ने सम्म पुग्दैन थिए होला । सरि भन्ने उनी एक जना मात्र होइनन मलाई धेरैले जात सोधेकोमा सरि भन्नु भएको छ । प्रिय जात व्यवस्थालाई मन र बचनमा लिएर हिड्ने पात्रहरु, म भन्न चाहान्छु कि तपाइहरुको दिमाग र सोचलाई जातको कुरामा धेरै ग्रसित नबनाउनुहोस । हामीले जातको संरचना भत्काउन जरुरी छ, त्यसैले सानो जात ठुलो जात भन्ने सोचलाई मलजल गर्नुभन्दा पनि जात व्यवस्थाको विरोधमा बोल्न तयार हुनुहोस चाहे त्यो भौतिक रुपमा होस या त अनलाइन प्लेटफर्म मार्फत।

आज भन्दा ७ /८ बर्ष अगाडि दलित समुदायकि केटी साथिले उनले अर्कैै थर राखि फेसबुक चलाउदा उनी बाहुन समुदायको केटा सँग प्रेममा परेको कुरा सुनाइन। त्यति बेला मैले उनलाई सोधेको थिए, “अनि तिम्रो जातलाई स्वीकार गर्यो त?” त्यति खेर उनले आफ्नो जात भन्ने आँट नै आएन भनिन। मैले उनलाई आफ्नो बास्तबिकता भन भन्दा उनले भनिन् केटाले मलाई जातको मतलब छैन भनेछ । अलि बर्ष पछि सम्बन्धमा दरार आउदै गएपछि साथिको प्रेमिले तिम्रो जात स्वीकार्य छैन भनेछन त्यसपछि उनीहरुको प्रेम यात्रा फेसबुक बाट शुरु भई फेसबुक च्याट बाटै अन्त्य भएको थियो जसका कारण केहि समय उनलाई यो भोगाई बाट उन्मुक्त हुन धेरै समय लागेको थियो। यो त एउटा प्रतिनिधी घटना मात्र हो। यस्ता घटनाहरु समाजमा धेरै छन् जहाँ प्रेमको अंकुरण हुन नपाई जातकै आधारमा मर्छन।

Image of a woman in the laptop. There is a hand breaking a chain on top of her.

काठमान्डौ टोखामा हुर्किएकि रोशनी सुनामले पनि आफ्नो फेसबुकमा नामको पछाडि “सुनाम” थर राखेकि छन् । उनलाई धेरै साथीहरुले गर्ने प्रश्न नै, “सुनाम थर भनेको कुन जात भित्र पर्छ?”, उनले म यो जातको हो भनि प्रमाणित गर्दै गर्दा तिमी त उपल्लो जात जस्तो देखिन्छौ नि भन्ने प्रतिकृया धेरैबाट पाएकी छिन् । उनीमा पनि ठुलो प्रश्न छ पहिचानको लागी किन मान्छेहरु नाम भन्दा पहिला थरमा चासो राख्छन होला ? यी त केहि नजिकका उदाहरण मात्र हुन् तर सामाजिक सञ्जालमा सोधिने यी प्रश्नहरु पनि जातिय विभेदको एक श्रृंखला हो । जातीय विभेद नेपाली समाजको गहिरो र पुरानो समस्या हो, जसले एकीकृत र समान समाजको परिकल्पनामा गहिरो धक्का पुर्याउँछ। सामाजिक सञ्जालको आगमनले अभिव्यक्तिको स्वतन्त्रता र खुला संवादको सम्भावना प्रदान गरेको छ तर डिजिटल मञ्चहरूमा पनि जातीय विभेदको उपस्थिति बग्रेल्ती देख्न सकिन्छ। सामाजिक सञ्जालमा गरिने जातीय विभेद विभिन्न प्रकारले देखिन्छ। केही प्रत्यक्ष रूपमा अपमानजनक टिप्पणीहरूबाट प्रकट हुन्छन् भने केही सूक्ष्म रूपमा प्रस्तुत हुन्छन्। उदाहरणका लागि, दलित समुदायका सदस्यहरूले पोस्ट गरेका तस्बिरहरूमा अपमानजनक टिप्पणीहरू गर्ने, जातीय पहिचानलाई नै खिल्ली उडाउने, वा उनीहरूको योगदानलाई कदर नगर्ने कार्यहरू व्यापक देखिन्छ। त्यसैले यो बुझ्न जरुरी छ विशेष जातलाई लक्षित गरी बनाइएका ’मिम’ र ’ट्रोल’ ले समाजमा अझ बढी नकारात्मक सन्देश प्रवाह गरिरहेको हुन्छ ।

यसरी सामाजिक सञ्जालमा गरिने जातीय विभेदले व्यक्तिको मनोवैज्ञानिक र भावनात्मक स्वास्थ्यमा गहिरो असर पुर्याउछ । सामाजिक सञ्जाल एक खुला मञ्च भएकाले यहाँ व्यक्तिले सजिलै आफ्नो विचार, धारणा र भावना व्यक्त गर्न पाउनुपर्छ । तर, यसले केही व्यक्ति वा समूहमा भने जातीय विभेदको प्रभाव अझ बढाइदिन्छ। जातीय आधारमा भएका टिप्पणी, टिप्पणीमा गरिएको हेला, र विभिन्न पोस्ट तथा कमेन्टमा हुने घृणायुक्त भाषाले पीडित व्यक्तिमा आत्म–सम्मानको कमी, तनाव, र अलगावको भावना जन्माउछ।

उदाहरणका रूपमा, सामाजिक सञ्जालमा कुनै व्यक्तिले आफ्नो जात वा परम्परा बारे केही पोस्ट गर्दा उसको पोस्टमा नकारात्मक प्रतिक्रिया आउने हो भने उसले आफ्नो पहिचान माथि नै अपमान महसुस गर्न सक्छ। लगातार यस प्रकारको विभेदको शिकार भएपछि व्यक्ति समाजबाट अलग हुन चाहन्छ र आफूलाई कमजोर मान्छ । साथै, यसले व्यक्तिको  मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारेर डिप्रेसन, चिन्ता, र आक्रोशलाई बढावा दिन्छ । अमेरिकी मनोवैज्ञानिक संघ (एपिए) ले गरेको अध्ययनले देखाएको छ कि सामाजिक सञ्जालमा जातीय विभेदको सामना गर्नुपर्ने व्यक्तिहरूमा आत्म–सम्मानको कमी, चिन्ता, र डिप्रेसनको सम्भावना बढी हुन्छ। विभेदले गर्दा पीडितले आफ्नो जातप्रतिको नकारात्मक धारणा विकसित गर्ने सम्भावना हुन्छ, जसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ।  जातीय विभेदको असरलाई गहिराइमा विश्लेषण गर्दा, यसले समाजमा दीर्घकालीन समस्या निम्त्याउने देखिन्छ। विभेदका कारण व्यक्तिहरूमा असुरक्षाको भावना विकास हुन्छ, जसले उनीहरूको दैनिक निर्णय गर्ने क्षमता र सामजिक सहभागितामा कमी ल्याउँछ । यसले मात्र व्यक्तिगत जीवनमा नभएर समग्र समुदायमा पनि नकारात्मक प्रभाव पार्छ।साथै, जातीय विभेदको परिणाम स्वरूप पीडित समुदायका नयाँ पुस्तामा विरासतका रूपमा नकारात्मक मानसिकता हस्तान्तरण हुन सक्छ। यसले उनीहरूको सम्भावना, अवसर, र भविष्यलाई सीमित पार्छ।त्यस्तै, जातीय विभेदले व्यक्तिहरूबीचको आपसी विश्वासलाई नष्ट गर्छ। समाजमा सहकार्य र समावेशिताको वातावरण कमजोर हुँदा समग्र विकासमा ढिलाइ हुन्छ ।यसको थप गम्भीर पक्ष भनेको, पीडितहरूले विभेदको अनुभवबाट बच्नका लागि आफ्नो पहिचान र संस्कृति लुकाउन खोज्नु हो।

समस्या समाधानका लागि नीतिगत सुधार, सामुदायिक सहकार्य, र मानसिक स्वास्थ्य सेवाको पहुँचलाई प्राथमिकता दिनु अपरिहार्य छ। सामाजिक सञ्जालमा जातीय विभेदको समस्या नसोचेको चुनौती बनेर प्रस्तुत भएको छ। यसको समाधानका लागि हरेक व्यक्तिले जिम्मेवारीपूर्वक आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने र विभेदलाई सहनशीलताले सामना गर्नुपर्ने समय आएको छ। जातीय विभेदका जरा गहिरा छन्, तर सचेतना, सद्भाव, र सशक्त कानुनी कार्यान्वयन तर्फ लाग्नु पर्ने स्पष्ट देखिन्छ ।

तर, जातीय विभेदलाई अन्त्य गर्न कानुनी उपाय मात्र पर्याप्त हुँदैन। यसका लागि सामाजिक, नैतिक, र व्यावहारिक प्रयासहरू पनि अनिवार्य छन्। विभेदको जरा गहिरो भएकाले सर्वप्रथम समुदायमा शिक्षा र सचेतनाको अभियान सञ्चालन गर्नुपर्छ। विद्यालयहरूमा समानता र सहअस्तित्वलाई प्रोत्साहन गर्ने पाठ्यक्रम लागू गर्न आवश्यक छ। साथै, विभिन्न जातीय समुदायबीच मेलमिलाप र सहकार्य बढाउन सांस्कृतिक आदान–प्रदानका कार्यक्रमहरू आयोजना गर्नुपर्छ।

यसैगरी, सकारात्मक संवादको माध्यमबाट विभेद गर्ने र भोग्ने दुबै पक्षलाई समझदारीमा ल्याउन सकिन्छ। युवाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउँदै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विभेद विरुद्ध अभियान चलाउन पनि त्यति नै अत्यावश्यक छ । सामुदायिक सहकार्यले मात्र विभेदका कारण सिर्जित असमानता हटाउन सक्छ। विभेद अन्त्यका लागि सफल व्यक्तिहरूलाई भूमिका मोडेलका रूपमा प्रस्तुत गरी सबैलाई प्रेरित गर्नुपर्छ जसले सामाजिक न्यायका निम्ति सँधै नै आवाजलाई बुलन्द गर्दै आएका छन्।

साथै, विभेदलाई अस्वीकार्य बनाउँदै विभेद गर्नेहरूप्रति सामाजिक दबाब सिर्जना गर्नु महत्त्वपूर्ण छ। जातीय समानताको पक्षमा बहस र सामाजिक आन्दोलनले पनि विभेदलाई अन्त्य गर्न सहयोग पुर्याउन सक्छ। यी गैर–कानुनी तर व्यावहारिक उपायहरूलाई अवलम्बन गर्दा मात्र जातीय विभेदलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ।

Portrait Photo of Radhika Radhika loves listening to people’s stories and transforming them into compelling pieces like Op-Eds and blogs. As a Dalit woman, her own experiences of discrimination have fueled her passion for advocating for marginalized communities. Despite the challenges of societal prejudices, she remains steadfast in amplifying the voices of the oppressed, striving for a world where inclusivity and social mobility are a reality. Her dedication to social justice inspires others to join her in building a future where everyone can live with dignity and equal opportunity.