सरिता लामिछानेद्वारा लिखित 

 

 

संरचनागत पृष्ठभूमी

अपाङ्गता भएका महिला र क्वेर व्यक्तिहरू  बहुविभेदको सिकार भइरहेका छन्। एक्काइसौं शताव्दीको अत्याधुनिक युगमा पनि यो वर्गलाई समाजमा अवसरहरूको सीमिततामा सम्झौता गरी जीवनयापन गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।

दिगो विकासको लक्ष्य २०३० मा गरिएको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको हस्ताक्षर अनुमोदन, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, सो ऐनमा उल्लेखित प्राव्धानहरूलाइ कार्यन्वयन गर्न लागु भएको नियमावलि,  अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९,   सुचना प्रविधि ऐन जस्ता विभिन्न नीति नियमहरू पारित भएता पनि अपाङ्गता भएका व्यक्ति त्यसमा पनि महिला र क्वेर् व्यक्तिहरूले शारीरिक, लैङ्गिक तथा वर्गीय लगायतका बहुविभेदको सामना  गर्दै आइरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको  सवालहरूलाई मानव अधिकार, विकास र मानवीय सम्वेदनासँग जोडेर नीति नियम कानून कार्यक्रम तथा अन्य विकासका संरचनाहरू नवन्ने परिपाटीले गर्दा बहुसंख्यक अपाङ्गता भएका व्यक्ति एक्काइसौँ शताव्दीमा पनि परनिर्भर र अधिकार विहीन जीवन जिउन बाध्य छन् । बिकासले जति नै फड्को मारे पनि अपाङ्गता अनुकूलको भौतिक तथा सामाजिक वातावरण, सेवासुविधा नभएको कारणले गर्दा कतिपय अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू सम्मानित जीवनयापन गर्न पाउने अधिकारबाट बञ्चित भएको अवस्था छ ।  महिला आन्दोलन, भुमिहिन सुकुम्वासिहरूको आन्दोलन, विद्यार्थि आन्दोलन,  दलित आन्दोलन,  आदिवासि तथा जनजाति आन्दोलन, युवा आन्दोलन, मधेसी  आन्दोलन योनिक तथा लैङ्गिक बिबिधता भएका समुदायको आन्दोलनहरूले सिमान्तकृत समुदायको आवाज उठाएता पनि उनिहरूको प्राथमिकतामा सोहि  समुदायका अपाङ्गताको सवाल पर्न सकेको छैन।

अपाङ्गता भएका  महिलाहरू र  क्वेर् व्यक्तिहरू  अभिव्यक्ति स्वतन्त्रता,  सुचना प्रविधिमा पहुच, र रुचि अनुरुपको क्रियाकलाप गर्नबाट बञ्चित  भइरहेका छन्।

 

इन्टरनेट प्रविधि माथिको पहुँचको सवाल

‘विद्युतीय प्रविधिहरू भनेको जटिल हुन्छ। यो ग्रामीण भुभागमा बसोवास गर्ने र सिमान्तीकरणमा परेका व्यक्तिहरूले प्रयोग गर्न सक्दैनन् ‘ भन्ने सोच नेपाली समाजमा ब्याप्त छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धिको धारा ९ ले पहुचयुक्तताको कुरा गरेता पनि विभिन्न सङ्घ सस्थाहरूले निर्माण, प्रकाशन र प्रसारण गरेका सामग्रीहरू  पहुचयुक्त ढाँचामा बन्न सकेको छैन।  प्राविधिक क्षेत्रले अपाङ्गता भएको समुदायलाई प्रमुख सरोकारवाला भन्दापनि लक्षित वर्गको रुपमा मात्र स्विकार गरेको छ। सिमान्तकृत समुदायको लागि हामीले सोचेर प्रविधिहरू बनाउने हो बनिसकेपछि मात्र उनीहरुले त्यसको प्रयोग गर्ने हो भन्ने सोचले जरो गाडेको छ। प्रविधि क्षेत्रले कहिले पनि पहुचयुक्तताको  अडिट गरेको पाइदैन। दुरदराजमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहुचमा मोवाइल्  फोन पनि छैन। केहि सिमित सामजिक सञ्जालहरूमा मात्र सहरी  क्षेत्रमा बस्ने अपाङ्गता भएका क्वेर र महिलाहरूको पहुच पुगेकोछ।

डिजिटल अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको “बडी एण्ड डाटा” नामक सस्थाले गरेको सर्वेक्षण अनुसार अपाङ्गता भएको व्यक्ति र समुदायमा इन्टरनेटको पहुचको विषयमा खासै चर्चा  नभएको  पाइएको छ । अझैपनि इन्टरनेट आर्थिक रुपले बलियो जमातले मात्र प्रयोग गरेको पाइन्छ। इन्टरनेट र प्रविधिका सेवा प्रदायकहरूले  ग्रामीण भूभाग  र न्युन आर्थिक स्थिति भएकाहरूलाइ लक्षित गरी  सेवा प्रदान गरेका छैनन्। त्यसै गरी उनीहरूको सस्थागत प्रणाली पनि पहुचयुक्त  छैन।  कुनै बहिरा व्यक्तिले मोवाइल SMSबाट ग्राहक सेवा र प्राविधिक सेवामा पहुच गर्न सकेका छैनन्। सामाजिक सञ्जालहरूमा पनि चित्रहरूलाइ स्पष्ट बर्णन गरिदिने खालका स्वरुपहरू निर्माण र विकास गरेका छैनन्। सोहि सर्वेक्षणमा १ जना बहिरा सहभागीले ट्विटर चलाउने अभिलाषा  भएतापनि भाषागत अवरोधले प्रयोग गर्न कठिनाइ भएको अभिव्यक्ति दिएकि छिन्।  डेटिङ्ग यापहरूपनि द्रिष्टि  सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूलाइ  पहुचयुक्त नहुनाले  यो जगतमा अन्लाइन् डेटिङ्को  प्रयोग  भएको पाइदैन।

 

सामाजिक पारिवारिक निगरानी नियन्त्रण

सर्वेक्षण अनुसार केहि बहिरा र दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो सामाजिक सञ्जालहरू स्वायत्त रुपमा चलाउन नपाएको र कतिपयले त आफ्नो  स्रिमानको निगरानीमा  सामाजिक सञ्जालहरूको प्रयोग गरिरहेको कुरा अभिव्यक्त गरेका छन्। अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिले निर्धारण गरेको मापदन्डमा हिड्नु पर्दछ भन्ने सोच व्यप्त पाइन्छ। उक्त मापदण्डले अपाङ्गता भएका  महिला र क्वेर व्यक्तिहरूको गास, बास, कपास बाहेक अन्य सवालमा सोच्नु त्यति आवश्यक ठान्दैन । जसले गर्दा अन्लाइन संसारमा आफुलाई स्वतन्त्रतापुर्वक अभिव्यक्त गर्ने कुरा आकाशको फल आँखा तरि मर् जस्तो भइरहेको छ।

अपाङ्गता भएका महिला र अपाङ्गता भएका क्वेर व्यक्तिहरू अपाङ्गता आन्दोलन, परिवार र साथीसंगिबाट नियन्त्रण र निगरानीमा परेका हुन्छन्। अपाङ्गता आन्दोलनमा यौनिकताको सवालमा केहि बहसहरू सुरु भएता पनि मुख्यत यौनजन्य हिंसामा मात्र सिमित छ । त्यहाँ यौन सुख या आनन्दको विषयमा खुलेर चर्चा हुदैन।  यौन आन्नन्दसँग कुरा जोड्यो भने छाडा या  उच्स्रिङ्खलको आरोप लाग्ने गर्छ । अनि सधै भरि अरुको निगरानीमै हुँदा आफुले खुला रुपले इन्टरनेटमा सयर गर्ने, यौन सम्बन्धित जानकारी पढ्ने, पोर्न सिनेमा हेर्ने, dating app चलाउने काम उनीहरुले सहजै गर्न पाइराखेका हुँदैनन । पोर्न सिनेमाको सवालमा प्राय अपाङ्गता भएका महिला र क्वेर् व्यक्तिहरूले खुलेर कुराकानि गर्दैनन्।  पोन्   सिनेमा भित्रको पहुचयुक्तताको सवाल त झन्  मौनतामा सिमित छ।

 

डिजिटल संसारमा अपांगता भएको शरीरको चित्रण टिप्पणी

“डिजिटल संसारले अपाङ्गता भएको शरिरलाइ नकारात्मक पाराले मात्र प्रस्तुत गरेको पाइन्छ। ट्विटर या  फेस्बुक् जस्ता सामजिक सञ्जालहरूमा पोस्ट गर्दा र आउने टिप्पणि जस्तै गर्दा अन्धा (काना) को देशमा आँखा चिम्लनु, लङ्गडाको देशमा खुट्टो खोच्याउनु, आँखाको कानो नाउँ नैन सुख, अन्धाले गोवर फालेको जस्तो, कानो गोरुलाई औसी न पुर्ने, के खोज्छस् काना आँखा, जो होचो उसको मुखमा घोचो, ताई भन्दा सेखी (धाक भन्दा धक्कु) ठूलो हिड्न लाग्यो खुट्टा लुलो, देख्नेका आँखा फुटे सुन्नेका सही, धेरै कराउनेको मुख बाँङ्गो, नहुने मामा भन्दा कानो मामा निको, बौलाहा कुकुरलाई फुलबारीको डेरा, लाटाको खुट्टा बाटामा, लाँटो देशमा गाँडो तन्नेरी, लाटो खान्छ एक बल्ड्याङ्ग, बाठो खान्छ तीन बल्ड्याङ्ग, होचाकि जोइ सबैकि भाउजू, साउनमा आँखा फुटेको गोरु सधै हरियो देख्छ जस्ता अपाङ्गतालाई  इङ्गित गरेर बनाइने विभेदकारी उखान टुक्काहरूको प्रयोग गरेको पाइन्छ।

अपाङ्गता भएका व्यक्तिहरु पनि सामाजिक सांस्कृतिक कारणले आफुलाई सेन्सरसिप गरि नै  रहेका हुन्छन् । आफ्नो सामाजिक संजालमा यौनिकता सम्बन्धि कार्यक्रमहरूमा आफु सहभागी भएको चित्रहरू पोस्ट गरेतापनि  आफ्नो यौनिकता झल्किने अभिव्यक्ति तथा फोटोहरू पोस्ट गर्न भने हिचकिचाउने  गर्दछन्। डिजिटल स्थानको प्रयोग  शिक्षा, रोजगार र अध्ययन जस्ता काममा बढि हुनुपर्दछ , आफ्नो यौनिकताको कुरा गर्न होइन भन्ने मान्यताका कारण पनि त्यस्तो भएको हो  । यधपि डिजिटल श्रोतको उपयोग कसरी गर्ने भन्ने कुरा व्यक्ति व्यक्तिको छनौट र मन्जुरीमा भर पर्ने कुरा हो ।

 

अन्तमा,

हाम्रो राजनीतिक देखि प्राविधिक प्रणाली सम्म देखावटी रुपमा मात्र समावेशीकरण नगरी अर्थपूर्ण सहभागिता,  विद्यमान नीति – नियमहरूको  प्रभावकारी कार्यान्वयन, अपाङ्गता भएका महिला र क्वेर् व्यक्तिहरूलाई  विषय बिशेषज्ञको रुपमा स्विकार गर्ने परिपाटी , अत्याधुनिक प्रविधिहरूको पहुचयुक्तता र सहजताको दृष्टिकोणले लेखाजोखा, डिजिटल साक्षरता, निरन्तर बहस र नविनतम आविष्कारहरूलाइ प्रोत्साहन जस्ता कदमहरू चालेको खण्डमा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुच सुनिस्चित हुन सक्थ्यो कि?

ABOUT

Body & Data is a movement that integrates feminism, Technology and internet right, gender and sexuality based in Nepal. We envision to creating free, open and just internet that respects autonomy of individual and upholds their dignity.

Body & Data is hosted by Vision for Change