नेपाल प्रहरीले हालसालै ४ जना युट्युबरहरुलाई महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको छ । उक्त सन्दर्भमा यस्तो खालको जटिल विषयलाई केही सामाजिक साँस्कृतिक परिवेश र यसको डिजिटल अधिकारसँगको अन्र्तसम्बन्धबारे केलाउदै हाम्रो आफ्नो टिप्पणी प्रस्तुत गर्न चाहन्छौं ।

 

क) युटुय्व पत्रकारिताको आयामहरु:

युट्युवले उपलब्ध गराएको शक्तिशाली प्ल्याटफर्म मार्फत् धेरैले आफ्नो रुची अनुसार विभिन्न विषयहरु पस्किने गर्छन् । जसमा धेरै युट्युवरहरुले व्यक्तिगत र पारिवारिक मामलाहरु नै रोज्ने गरेका छन् र त्यस्ता सामाग्री ले नै मान्छेको विशेष ध्यान पनि खिचेको पाइन्छ । यसरी युट्यब चलाउनुको पछाडी उनीहरुको उद्देश्य भनेको आर्थिक लाभ लिनु, चर्चित बन्नु र धेरै फलोवर्स बढाउनु हो ।

सँगसँगै उनीहरुले प्रस्तुत गर्ने विषय र त्यसको तरिका जस्तै प्रश्न सोध्ने ढाँचा, पितृसत्ता र पुरुषहरुकै पक्षपोषण गर्ने प्रवृत्ति इत्यादी हेर्दा उनीहरुको अर्को उद्देश्य भनेको समाजको पहरेदार बनेर विशेषगरी महिला र जो पहिल्यै देखि उत्पीडित छ त्यो वर्गलाई मोरल पुलिसिङ्ग मार्फत् तह लगाउनु पनि हो । यसरी हेर्दा उनीहरुले प्ल्याटफर्मलाई आफू अनूकुल प्रयोग  गरी पितृसत्तात्मक अभ्यासहरुलाई युट्युबमा समेत स्थापित गरीरहेका छन् ।

 

 

ख) चरित्रहत्या र एजेन्सीको विषय: महिला

समाजको पितृसत्तात्मक प्रबृत्तिले महिलाहरुको चरित्र र इज्जत उनीहरुको यौनिकतासँग जोडिदिएको छ । कुनै पनि हालतमा इज्जत फाल्न या चरित्रमा दाग लाग्नु हुदैन भन्दै परिवार र समाजले २४ घन्टै उनीहरुको निगरानी गर्छ । युटुयुवका सनसनीपूर्ण खोज तथा अन्र्तवार्तामा सजिलोगरी महिला र सीमान्तकृतलाई नै टार्गेट गरिने कारण पनि यही नै हो । किनकी यो विषय नै समाजले संवेदनशील मान्छ जसका कारण विवाद, दर्शक र कमाई उत्तिकै बटुल्न सकिन्छ । सँगसँगै कानुन र प्रहरीले पनि चरित्रहत्यालाई उसैगरी अपराधीकरण गरेको छ ।

यहाँनिर चरित्रहत्या गरेकै आरोपमा कसैलाई पक्राउ गर्नु कतिको जायज हो र भोली यसको प्रभाव कहाँसम्म पुग्न सक्छ भन्ने पनि हामीले सोच्नु पर्छ । किनभने चरित्रहत्याको आरोप लगाइराख्दा सतही रुपमा कसैले गरेको र कानुनले तोकिदिएको अपराधको पुष्टि गर्न त सजिलो हुन्छ । भोली कसैले अरुलाई यस्तो हैरानी दिने काम नगरुन् भनेर तर्साउन पनि सजिलो हुन्छ ।

जबकी चरित्र भन्ने विषय नैतीक मुल्यहरुसँग जोडिएर आएको निकै व्यापक र अस्पष्ट शब्द पनि हो । तर यही प्रक्रियाले फेरि पनि महिलाको चरित्र भनेको उसको यौनिकतासँग नै जोगाएर राख्नुपर्ने संरक्षणवादी सोचलाई नै मलजल पनि गरिरहेको हुन्छ ।

युटुयुब पत्रकार या कुनै दोस्रो पक्षले महिलाको यौनिकताको विषयलाई जुनसुकै तरिकाले प्रयोग गरी नाफा कमाइरहेको अवस्थामा उनीहरुबाट हुने चरित्रहत्यालाई अपराधीकरण गरिराख्दा यहाँनिर महिला स्वयम्ले आफ्नो एजेन्सीको प्रयोग गरी आफ्नै इच्छा र सहमतिमा त्यस्ता सामाग्रीको प्रकाशन र वितरण गर्दा पनि उत्तिकै मात्रामा अपराधीकरण हुने खतराको हामीले ख्याल गर्नु जरुरी छ ।

सँगसँगै चरित्रहत्याको आरोपमा २-४ जनालाई जेल पठाउदैमा राज्य र समाजको दायित्व पूरा हुदैन । न त चरित्र हत्या गरिएका महिलाले जीवन पर्यन्त भोग्ने आरोप या स्टिग्माहरु नै रोकिनेछन् ।

यस्ता पक्राउले गर्ने भनेको मूल पितृसत्तात्मक समस्याले समाज र महिलालाई पारेको असरबाट तत्कालको लागि बहसको विषयान्तर गर्नेमात्र हो । जरासम्म गएर यसको समाधान गर्नेतर्फ सम्बन्धितको ध्यान जान दिदैन ।  फेरि प्रहरी प्रशासनको विडम्बना चाहि यो छ कि उनीहरुले घरेलु हिंसाका मुद्धाहरुलाई भने व्यक्तिको ‘नीजि मामिला’ भन्दै घरभित्र नै त्यसलाई मिलाउन सल्लाह दिने गरेको उदाहरणहरु भेटिन्छन् ।

 

ग) युट्युवको अन्र्तनिहीत राजनीति

युट्युव आफै पनि महिला र लैगिंक तथा यौनिक विविधता भएका व्यक्तिहरु प्रति पक्षपाती छ । उनीहरुले आफ्नो इच्छा र मञ्जुरीमा बनाएका धेरै कन्टेन्टहरु ‘श्लीलता’ र ‘नैतीकता’को आधारमा युट्युवबाट झिकिने गरिन्छ । यो तमाम अन्य सोसल मिडियाको पनि नियति हो । जबकी महिला र सिमान्तकृतको मर्यादामा प्रत्यक्ष चोट पुर्याउने र हानी गर्ने अन्य पक्षले बनाएका कन्टेटहरु प्रति भने युट्युबले खासै मतलब राख्दैन । जबकी यस्ता मिडियामार्फत् प्रसारण हुने र पितृसत्तात्मक अभ्यासलाई नै बढावा दिने सामाग्रीहरुप्रति युट्युव पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।

 

घ) दर्शकहरुको जिम्मेवारी

महिला र सीमान्तकृत वर्गको मर्यादामा खलल पुर्याउने यस्तो कार्यमा पत्रकारहरु जत्तिकै यस्तो सामाग्री उत्सुकताका साथ उपभोग गर्ने दर्शक र समाज पनि उत्तिकै जिम्मेवार पक्ष हुन् ।

जबसम्म महिलाहरुको छनौट र एजेन्सीको सम्मान गर्न सक्ने समाज निर्माण हुदैन तबसम्म यस्ता समाग्रीहरुलाई कानुनले अपराधीकरण गर्ने तर केही व्यक्तिहरुले फेरी यीनै सामाग्री बनाइराख्ने र अन्यले उपभोग गरिराख्ने क्रम बन्द हुदैन ।

 

ङ) प्रहरी, राज्य र मानव अधिकारको बहस

प्रहरी र राज्य कानुनको जगमा अपराध न्युनीकरण र व्यबस्थापन गर्ने अधिकार पाएका पक्षहरु हुन् । तर कानुनहरु निरपेक्ष नभई सापेक्ष हुन्छन् र त्यसले समाजको मूलधारे चरित्रलाई बोकेको हुन्छ । हाम्रा कतिपय कानुनहरु पनि यो प्रबृत्तिबाट अछुतो छैन । अर्थात् हाम्रा कानुनहरु पितृसत्तात्मक चरित्रका छन् । त्यसैले यौनिकतासँग जोडिएको चरित्रलाई संवेदनशील विषय बनाई चरित्रहत्यालाई अपराधीकरण गरिएको हो । हाम्रा कानुनहरु विशेषगरी ‘नैतीकता’, ‘श्लीलता’को परम्परगत परिभाषाबाट चल्ने गर्छ । अपराध नियन्त्रणको पाटो एकातिर हुदाहुदै यस्तो प्रबृतिले विभिन्न मिडियामार्फत् प्रसारित हुने हाम्रो अभिव्यक्तिमाथि ‘अश्लीलता’, ‘नैतीकता’को आधारमा सेन्सरसीप लाग्न सक्ने सधै खतरा हुन्छ । हाम्रो अभिव्यक्ति अधिकार कुण्ठित हुनसक्छ । सूचनाको हक खुम्चिन सक्छ । जुन हाम्रो अनलाइन र अफलाइन मानवअधिकार कै आयामहरु हुन् । यसर्थ यसमा सबैजना चनाखो हुनु जरुरी छ ।