लेखक – शुभ कायस्थ

 

क्याफे गई घन्टाको ३० रुपैयाँ तिरेर इन्टरनेट चलाउँदै गर्दा यसरी इन्टरनेट घर–घर र हात–हातमा पुग्छ भनेर मैले सोचेको पनि थिइन । अचेल बिहान आँखा खुल्ने बित्तिकै मेसेज वा सामाजिक सञ्जाल चेक गरिन्छ । इन्टरनेट भएन भने कार्यालयको कामसमेत ठप्पै हुन्छ ।

यति भनिरहँदा सहर–बजारमा इन्टरनेटबारे अर्को विचार याद गर्दैछु । इन्टरनेटले बालबालिका र युवायुवती बिगार्‍यो भन्ने विषय जोडतोडले उठ्दैछ । इन्टरनेट आउनुअघि मानिसहरू बच्चाले टिभी धेरै हेरेर आँखा बिगारे, पढाइ खत्तम पारे भन्थे । अहिले त्यो दोष मोबाइल र कम्प्युटरलाई दिने गरेको पाइन्छ । कोही इन्टरनेटलाई नै बालविवाह बढ्नुको कारक तत्त्व पनि हो भन्छन् । सहर–बजार होस् या गाउँमा अभिभावकलाई आफ्नो बालबच्चा इन्टरनेटको कारण उनीहरूकै भाषामा भन्नुपर्दा ‘नराम्रो बाटो लाग्ला’ कि भन्ने ठूलो चिन्ता छ । अलि ग्रामीण भेगतिर गएर कुरा गर्नुभयो भने त झन् ‘यो फेसबुकले गर्दा केटीहरू सबै पोइल गए’ भन्ने गरेकोसम्म पनि सुन्न पाउनुहुन्छ । मैले चाहिँ आफू काम गरिहिँड्ने क्रममा यस्तो धेरै सुनेको छु ।

‘इन्टरनेट चलाएर बच्चा बिग्रियो’ भन्ने कुरा हामीले प्राय: मिडियामा पढेको र देखेको भरमा भनिरहेका हुन्छौँ । समाचारको शीर्षक नै अत्याउने खालको हुने गर्छ । त्यसो भएपछि मान्छेहरू आत्तिन्छन् नै । त्यस्ता समाचारले कति सत्यतथ्य बोलेको छ वा समाचार लेख्नेको व्यक्तिगत विश्लेषण मात्र हो कि भनेर धेरै नसोची विश्वास गरिहाल्ने हाम्रो बानी छ । फेरि समाचार आफ्नै सन्तानसँग सम्बन्धित भएपछि आत्तिने त भइनै हाल्यो । जबकि अभिभावकलाई आफ्नो सन्तानले इन्टरनेट केको लागि प्रयोग गर्दैछ भन्ने कुरा थाहा नहुनाले यस्तो डर पैदा हुने हो । झन् किशोर अवस्थाको सन्तान छ भने त इन्टरनेटमा कोसँग कुरा गर्दैछ, कसैले उक्साएर गलत काममा लाग्ला, हिंसा अथवा यौनहिंसामा पर्ला कि भनी प्राय: अभिभावकमा डर हुने गरेको पाइन्छ । कतिलाई इन्टरनेट चलाउने क्रममा प्रविधि र भाषाको ज्ञान नभएको हुनसक्छ । आफूले नदेखेको वा नजानेको कुरामाथि शंका लाग्नु स्वाभाविक पनि हो । यस्तै डरका करण देशका विभिन्न ठाउँमा इन्टरनेटको प्रयोगले नै हिंसा बढेको भन्दै विरोध कार्यक्रमहरू पनि भएका छन् । मिडियामा आउने समाचार पढेर त्यो डर अझ बढ्ने गर्छ । सरकारले महिला हिंसा बढ्नुमा इन्टरनेटको दोष देखाउँदै पोर्नसाइटहरू बन्द गरेको पनि एक वर्षभन्दा बढी भइसक्यो । यस्ता कदम भनेको अधिकारमुखी नभई संरक्षणमुखी हुन्छ र यसले समस्याको जरा पत्ता लाउनभन्दा सतही रूपमा क्विक फिक्स गर्ने बाहेक केही गर्दैन ।

अब एकछिनको लागि आफ्नो बाल्यकाल र युवावस्था सम्झिम् त । तपाईंहरूमध्ये कतिले कक्षाकोठामा शिक्षकले नदेख्नेगरी कागजमा चिट लेखेर साथीहरूलाई पास गर्नुहुन्थ्यो ? त्यो गर्नुहुन्नथ्यो भने घर बाहिर, सडक नजिक दगुर्ने, गुच्चा खेल्ने त गर्नुहुन्थ्यो । अथवा रुख चढ्नुहुन्थ्यो । अब यो सब गतिविधि पनि त जोखिमपूर्ण नै छ नि होइन ? रुख चढ्दा लढ्न सक्छ । घर बाहिर सडक नजिक खेल्दा गाडीले हान्न सक्छ वा अपहरणमा पनि पर्न सकिन्थ्यो नि । तर त्यस्तो जोखिम हुन्छ भनेर घरमै बस्नुपरेको भए हाम्रो बाल्यकाल कस्तो हुन्थ्यो होला ? त्यस्तै कागजमा चिट लेखी साथीलाई पास गर्दा तपाईंको अभिभावक र शिक्षकले तपाईंलाई ‘अरुसँग गोप्य रूपमा कुरा नगर’ भन्दा कस्तो लाग्छ ? यी कुरा भनेको तपाईको छनोट र गोपनीयतासँग पनि जोडिएका कुरा हुन् भनी हामीले ख्याल गर्नुपर्छ ।

चक्कु, चुलेसी चलाउँदा चोट लाग्छ भने त्यो चक्कु, चुलेसीको दोष होइन । चलाउने व्यक्ति अथवा बाहिरी वातावरण कारण हुनसक्छ । फेरि केही कुराको रोकटोक लगाउँदैमा रोकिन्छ भन्ने हुँदैन । इन्टरनेट चलाउनबाट बालबालिका र किशोरीहरूलाई रोक लगाउँदैमा उनीहरूले अर्को बाटो खोज्दैनन् भन्ने हुन्न । नियन्त्रण गर्नाले झन् जोखिममा पर्न सक्छन् भन्ने बुझ्नुपर्छ ।

अब एकछिन इन्टरनेटबारे कुरा गरौं । प्राय:को लागि इन्टरनेट फेसबुक, युट्युब, अनि भाइबर जस्ता एपहरूमा सीमित हुन्छ । तर इन्टरनेट सागर जतिकै फराकिलो छ । मनोरञ्जन र मेसेज गर्ने बाहेक यो सूचना, समाचार र स्वास्थ्यको जानकारी पाउने, अध्ययन गर्ने, आफ्नो विचार व्यक्त गर्न अनि आफूजस्तै विचार राख्ने समुदायसँग सम्पर्क राख्ने ठाउँ पनि हो । इन्टरनेटको मद्दतबाट सामाजिक आन्दोलन गर्न सजिलो भएको छ । उदाहरणको लागि गुठी विधेयक विरुद्ध हजारौं जनता सडकमा उत्रिए । अरुभन्दा पनि अहिलेको जमानामा सामाजिक अन्तरक्रिया गर्ने तरिका भिन्न भएको छ । अनलाइनमा हुने घटना र समाचारले हाम्रो दैनिक जीवनको सामाजिक अन्तरक्रियालाई सोझै असर पारेको हुन्छ । यदि तपाईं अनलाइन हुनुहुन्न भने धेरै विषयमा अनविज्ञ हुनसक्ने अवस्था छ । अध्ययनहरूले के पनि देखाउँछ भने इन्टरनेटको प्रयोग गर्ने बालबालिकहरू झन् रचनात्मक हुने, अनि यसले उनीहरूको क्षमता विकास हुन्छ ।

१८ वर्ष मुनिका सबै बालबालिकाको समूहभित्र पर्छन् । जसमा हरेक बच्चाको उमेर र परिवेश फरक हुन्छ । उसको आवश्यकता र स्वभाव फरक हुनसक्छ । त्यसैले सबै बालबालिका एकै खाले हुन्छन् र उनीहरूलाई एउटै नियमले काम गर्छ भन्ने हुन्न । सुरक्षालाई जोड दिने हो भने पनि के–के कुरामा मात्र ध्यान दिने त ? ध्यान दिएर पनि साध्य लाग्दैन । बरु बालबालिका र किशोर–किशोरीलाई आवश्यक जानकारीहरू पूर्णरूपमा दिने र उनीहरू आफ्नै हिसाबले सिक्न सक्ने कुरामा विश्वास गर्नुपर्छ । यसले उनीहरूको स्वनिर्णय गर्ने क्षमताको समेत विकास हुन्छ ।

पक्कै पनि महिला र बालबालिकाहरू अनलाइनमार्फत हुने हिंसाबाट बढी प्रभावित हुने गरेका छन् । यो भनेको हाम्रो सामाजिक संरचनाकै उपज हो । यसको मतलब उनीहरूलाई इन्टरनेट नै नचलाउ भन्नु भने गलत हो । फोन वा कम्प्युटर चलाउन बन्देज गर्नु गलत हो । उनीहरूको प्रविधि र इन्टरनेटमाथिको पहुँच रोक्नु समस्याको समाधान होइन । बरु इन्टरनेटलाई सुरक्षित तरिकाले प्रयोग गर्न सघाउने डिजिटल सेक्युरिटीका मापदण्ड अपनाएर अगाडि बढ्न दिने हो । त्यसैले नियन्त्रण नै सबै कुराको समाधान होइन ।

समाजमा यदि बालविवाह हुँदैछ भने त्यो इन्टरनेटका कारण नभई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे सचेतनाको कमीले हुनसक्छ । त्यस्तै बालबालिकाको पढाइ बिग्रेको छ भने त्यो स्कुलको वातावरण अनुकूल नभएको कारण अथवा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा भएको हुनसक्छ । पक्कै पनि आफ्नो सन्तान कुलतमा लाग्ला भन्ने चिन्ता प्राय: सबै अभिभावकलाई लाग्नु स्वाभाविक हो । यो उनीहरूको जिम्मेवारी पनि हो । तर चिन्तालाई चिन्तामा मात्र सीमित नराखी यसलाई जति खुलारूपमा छलफल गर्न सकियो, त्यति नै यसको जरो पत्ता लाउन र समाधानको बाटो खोज्न सहज हुन्छ ।

कान्तिपुरमा पहिले प्रकाशित भएको

ABOUT

Established in 2017, Body & Data works to enhance understanding and access to information on digital rights among women, queer people and minority groups where they are able to exercise their rights in a safe and just digital space. We work towards the vision of accessible, safe and just digital space for all, through cross movement building, facilitation for access to information, knowledge building and dissemination on digital rights in the context of Nepal.

CONTACT US

Sundarbasti - 6,Suryabinayak Municipality,Bhaktapur

communication@bodyanddata.org

+977 9808580398, +977 9844296157

Follow Us

ABOUT

Established in 2017, Body & Data works to enhance understanding and access to information on digital rights among women, queer people and minority groups where they are able to exercise their rights in a safe and just digital space. We work towards the vision of accessible, safe and just digital space for all, through cross movement building, facilitation for access to information, knowledge building and dissemination on digital rights in the context of Nepal

Categories

Contact Us

Sundarbasti - 6,Suryabinayak Municipality,Bhaktapur

communication@bodyanddata.org

+977 9808580398, +977 9844296157

Follow Us

Body & Data is hosted by Vision for Change