First Published at Naya Patrika

 

लेखक: शुभ कायस्थ

 

वेबसाइटमा मतदाताका व्यक्तिगत विवरण सार्वजनिक गर्दा गोपनीयताको हक उल्लंघन भएको छ

 

गएको स्थानीय चुनाव र आउँदै गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन वरपर तपाईंहरूमध्ये कतिले आफ्नो फोनमा प्रतिनिधि र पार्टीहरूबाट एसएमएस वा फोन कल पाउनुभयो ? तपाईंको सामाजिक सञ्जालको भित्तामा कुनै प्रतिनिधि र पार्टीहरूको स्पोन्सर विज्ञापन देख्नु भयो कि ? धेरैलाई कुतूहल भएको हुन सक्छ, कसरी आफ्नो व्यक्तिगत नम्बर उनीहरूले पत्ता लगाए ? अथवा किन आफूले लाइक वा सेयर नगरेको प्रतिनिधिसँग सम्बन्धित समाचार आफ्नो सामाजिक सञ्जालको भित्तामा आइपुग्यो ? यो लेखमा यिनै प्रश्नहरूको वरिपरि रहेर छलफल गर्ने प्रयास गर्दै छु ।

 

चुनावमा सूचना प्रविधिको प्रयोग

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै संसारभरि नै चुनावमा पनि विभिन्न तरिकाले यसको प्रयोग हुँदै गएको हामी हेर्न सक्छौँ । नेपालमा सूचना प्रविधिको प्रयोग चुनावी माहोलमा पनि केही समयदेखि लागू हुँदै आएको छ । मतदाता नामावली दर्ता गर्दा, तथ्यांक संकलन गर्दा, अनलाइनमा उम्मेदवारहरूले प्रचारप्रसार गर्दा, मतदान केन्द्रहरूमा सिसिटिभी जडान गरी निगरानी गर्दा र विद्युतीय मतदान गर्दा सबै अवस्थामा सूचना प्रविधिको प्रयोग हुँदै आएको छ ।

प्रविधि राजनीतिक प्रक्रियामा पनि घुसेको छ, त्यसैले यसको फाइदा र बेफाइदा दुवै केलाउन उत्तिकै जरुरी छ । चुनावी प्रचारप्रसार अब क्याप र टिसर्टमा मात्रै सीमित रहेन । सामाजिक सञ्जालमा चुनावी प्रचार सँगसँगै हाम्रो व्यक्तिगत जानकारीलाई प्रयोग गरी मतदाताहरूको मत निर्धारणमा पनि प्रभाव पार्न सक्छ । कुनै व्यक्तिको अनलाइन–अफलाइनमा छरपस्ट भएका डाटाहरू संकलन गरी विश्लेषण गर्ने हो भने उसको धेरै कुरा पत्ता लाग्न सक्छ । अनि त्यो जानकारी उम्मेदवार र राजनीतिक पार्टीहरूले आफ्नो भोट जम्मा गर्न सजिलै प्रयोग गर्न सक्छन् । यस्तो परिवेशमा चुनावको निष्पक्षता र यसले लोकतन्त्रमा ल्याउने असरबारे प्रश्न उठाउन जरुरी छ । कसैबाट ‘म्यानिपुलेट’ नभई छनोट गर्न पाउने व्यक्तिको अधिकारमाथिको यस्तो हस्तक्षेप गम्भीर विषय हो ।

 

image with a vote box, voter ID card and a lock to show privacy

मतदाताको गोपनीयता

मतदाता नामावली नियमावली २०७० को धारा ३७ अनुसार निर्वाचन आयोगले एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताको नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ । सोही नियमावलीअनुसार सम्बन्धित पक्षले यो डाटा कुनै इच्छुक पार्टी अथवा कम्पनीलाई बेच्न पनि सक्छ । प्रकाशित नामावलीको आधारमा इन्टरनेट प्रयोग गरी जसले पनि मतदाताको पूरा नाम, उमेर, लिंग, ठेगाना, मतदान क्षेत्र, पतिपत्नीको नाम, आमाबुबाको नाम, मतदाता नम्बर, जातजाति, वैवाहिक स्थितिजस्ता सबै विवरण सजिलै पाउन सक्छ ।

यसरी व्यक्तिगत विवरण सार्वजनिक हुँदा हाम्रो गोपनीयताको हक उल्लंघन भएको छ । यो सोझै नेपालको संविधान र व्यक्तिगत गोपनीयता ऐनसँग बाझिन्छ । यसरी हाम्रोबारे व्यक्तिगत जानकारी सार्वजनिक गरिनेछ भनेर निर्वाचन आयोगले न तथ्यांक संकलन गर्ने क्रममा भन्यो, न प्रकाशन गर्ने वेला मतदाताहरूसँग अनुमति नै लियो ।

मतदाताको व्यक्तिगत र संवेदनशील सूचना र जानकारी कसरी राखिएको छ र यसले मतदातामा पर्न सक्ने असरबारे आयोगले कतै बोलेको वा अध्ययन गरेको पाइँदैन । अझ आफूले मतदाताको फोन नम्बर र बायोम्याट्रिक्स डाटा प्रकाशन नगरेको भन्दै पन्छिन खोजेको छ । अहिले प्रविधिको सहयोगले उपलब्ध जानकारी प्रयोग गरी कसैको फोन नम्बर सजिलै पत्ता लगाउन सकिन्छ । व्यक्तिगत र संवेदनशील जानकारीको विभिन्न तरिकाले दुरुपयोग हुन सक्छ । उपलब्ध जानकारीबाट कसैको बैंकिङ सूचनाहरू पत्ता लगाउन सकिन्छ । अनलाइन हिंसा हुन सक्छ । कसैको नक्कली प्रोफाइल बनाउन सकिन्छ । कसैको सामाजिक सञ्जाल र अन्य अकाउन्टहरू ह्याक हुन सक्छ । व्यक्तिको स्वाभिमानमा आँच ल्याउन सक्छ र यसले देशको साइबर सुरक्षामा नै जोखिम ल्याउन सक्छ ।

 

बिग डाटा र माइक्रो–टार्गेटिङ

जसरी निर्वाचन आयोगका लागि हामी मतदाता हौँ, त्यसरी नै बैंक र व्यापारिक संस्थाका लागि हामी ग्राहक र उपभोक्ता हौँ । देशका लागि नागरिक पनि हौँ । आयोगले निर्वाचनको पारदर्शिताको नाममा हाम्रो तथ्यांक जम्मा गरेर सार्वजनिक गरेजस्तै अरू थुप्रै सार्वजनिक र निजी संस्थाहरूले पनि आफ्ना सुविधाका लागि हाम्रो डाटा संकलन गरेको हुन्छ । त्यसरी नै हामी आफैँ पनि आफ्नो सामाजिक सञ्जालमा आफ्नो दैनिक गतिविधि, विचार, रुचिका विषय अभिव्यक्त गरिरहेका हुन्छौँ । यी सबै छरेर बसेका डाटा केलाउने र विश्लेषण गर्ने हो भने हाम्रा गतिविधिबारे थाहा पाउन गाह्रो हुन्न । यी सबै गतिविधिबाट हाम्रो राजनीतिक झुकावहरू पनि पत्ता लगाउन सकिन्छ ।

अमेरिकामा डोनाल्ड ट्रम्प जित्नुको पछाडि ‘क्याम्ब्रिज एनालितिका’ नामक कम्पनीले फेसबुकको प्रयोग गरी मतदातालाई प्रभाव पारेको कुरा खुलासा भएको धेरै भइसक्यो । त्यसैगरी भारतीय जनता पार्टीले फेसबुकमा लगभग १०४ मिलियन रुपैयाँ खर्च गरेको कुरा पनि अगाडि नै छ । स्थानीय चुनावअघि पनि केही नेपाली प्राविधिक कम्पनीले यस्तो सुविधा दिन विज्ञापन गरेको थियो । त्यसैले विभिन्न प्राविधिक कम्पनीले तथ्यांक विश्लेषण गरी चुनावी प्रचारप्रसारको लागि राजनीतिक दल र उम्मेदवारलाई सहयोग गरिरहेको हुन सक्छ ।

६०/७० हजार फेसबुक प्रयोगकर्तामाझ विज्ञापन पुर्‍याउन एक सय अमेरिकी डलर भए पुग्छ । हाम्रो उमेर, लैंगिकता र रुचिजस्ता व्यक्तिगत जानकारी प्रयोग गरी हामीमाथि कुनै राजनीतिक पार्टीले ‘माइक्रो–टार्गेटिङ’ गर्न सक्छ । जसको एउटा उदाहरण एउटै घरमा बस्ने मान्छेहरू वा एउटै क्याम्पस पढ्ने विद्यार्थीले पनि फरक–फरक विज्ञापन देख्न सक्छन् । चुनावी प्रचारमा कति किसिमले यी कम्पनी प्रयोग भए र यदि भएको हो भने यसबारे उम्मेदवारहरू जवाफदेही हुनुपर्ने हो कि होइन ? कसैलाई थाहै नहुने गरी यसरी ‘म्यानिपुलेट’ गर्न खोज्दा चुनावको लोकतान्त्रिक मर्ममा पर्ने असरलाई हामीले कसरी बुझ्ने ?

 

जिम्मेवार को ?

हाम्रो संवेदनशील जानकारी मतदाताको मन्जुरीविना आफ्नो वेबसाइटमा राख्ने निर्वाचन आयोग, अवाञ्छित तरिकाले हाम्रो व्यक्तिगत फोनमा एसएमएस पठाउने राजनीतिक प्रतिनिधि र पार्टीहरू, हाम्रा छरिएर बसेका डाटाहरूलाई विश्लेषण गरेर हामीलाई टार्गेट गरी विज्ञापन पठाएर नाफा कमाउने कम्पनीहरू सबै उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ । मतदानको प्रयोजनको लागि जम्मा गरिएको ठूलो संख्याको डाटा भविष्यमा कसरी प्रयोग हुन्छ, कुन–कुन सरकारी अथवा गैरसरकारी निकायको पहुँचमा हुन्छ र यदि यो डाटा चोरी वा क्षति भएमा को जिम्मेवार हुने ? यी प्रश्नको जवाफ आयोग र सम्बन्धित पक्षले मतदातालाई दिनुपर्छ । निर्वाचनलाई लोकतान्त्रिक बनाउने हो भने मतदाता पूर्ण रूपमा आफूले हाल्ने मतबारे जानकार हुनुपर्छ, कुनै किसिमको प्रभावमा नपरी मत हाल्न पाउने वातावरण मतदाताले पाउनुपर्छ । तर, विद्यमान गतिविधिका कारण निष्पक्ष निर्वाचन हुनेमा सन्देह गर्नुपर्ने देखिन्छ ।