-अरूण सिहं नेपाली

 

​को हो नागरिक? कानुनी रूपमा बुझ्दा, जसको पहिचान कुनै सार्वभौमिक सिमाना र कानुनी परिधिभित्र अटाउँछ, ऊ नै नागरिक हो। एउटा यस्तो अस्तित्व, जसले बिना भेदभाव समाजको हरेक कुनामा आफ्नो उपस्थितिको ग्यारेन्टी पाउँछ; जससँग निर्धक्क, निर्भीक र निगरानीमुक्त बाँच्न पाउने अधिकार हुन्छ। आफूलाई चिनाउँदा कागजी अधिकार र सामाजिक सम्मानको हक पाउनु नागरिक हुनुको सर्त हो। भौतिकताका अनेक रङ, रूप र हन्डर भोगेको यो भौतिक संसारमा त एउटा आम नागरिकले कानुनी वा नैतिक परिबन्धका बहुआयामिक चरणहरूमा आफ्ना अधिकारहरू पूर्ण रूपमा भोगचलन गर्न पाएको छैन, त्यो त केवल ईश्वरको कृपा जस्तो (त्यो पनि सेलेक्टिभ रूपमा) मात्र साबित भएको छ। अनि यही कृपाको पनि अति कृपाको चेपमा पर्छन् दलित। आजको युगमा हाम्रा जीवनपद्धतिहरू बहुआयामिक त छन्, तर हामी एउटा नितान्त बेग्लै र विचित्र संसारमा पनि बाँचिरहेका छौँ, डिजिटल संसार। प्रविधि, पहुँच र अन्तरसम्बन्धको प्रतीक मानिएको यो संसार जति आधुनिक र सरल देखिन्छ, उति नै यो हाम्रो भौतिक संसारकै कुरूप प्रतिबिम्ब पनि बनेको छ। र, त्यही इन्टरनेटको संसारमा पनि आज एउटा दलित आफ्नो सुरक्षित ठाउँ खोज्न संघर्ष गरिरहेको छ।

​डिजिटल संसारको सबैभन्दा सामूहिक प्रयोग वा उपस्थिति हुने माध्यम सामाजिक सञ्जाल हो। यसले भौगोलिक सिमाना र परिधिलाई नाघेर हामीलाई विश्वव्यापी बनायो। यसको उचित प्रयोगले मानव स्वतन्त्रतालाई नयाँ आयाम र उपलब्धिको नयाँ शिखरमा त पुर्‍यायो, तर सँगसँगै यसले समाजमा विद्यमान विभेदलाई पनि भित्रभित्रै प्रवर्द्धन गरिरह्यो।

​म सम्झन्छु, जब मैले मेरो जीवनको पहिलो सामाजिक सञ्जाल, फेसबुक एकाउन्ट बनाएँ, तब मनमा उत्साहको एउटा बेग्लै उमङ्ग थियो। त्यो नौलो स्वतन्त्रताको अनुभूति थियो। सुरुमा म आफैँसँग प्रविधिको त्यस्तो पहुँच र ज्ञान थिएन, त्यसैले त्यो एकाउन्ट मेरो बुबाले बनाइदिनुभएको थियो। बुबाले नै सबै कुरा भर्नुभएकाले मेरो नाम, थरदेखि लिएर सम्पूर्ण व्यक्तिगत जानकारीहरू स्पष्ट र पूर्ण थिए। जब बिस्तारै यो मेरो आफ्नै पहुँचमा आयो, तब यो मेरो दैनिकी बन्यो । यो अनलाइन प्रोफाइल नै मेरो पहिचान जस्तो हुन पुग्यो। विश्वव्यापी ट्रेन्ड, सूचनाको पहुँच र सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढ्दै गयो। इन्टरनेटको यो तीव्र विकासकै चरणमा हुर्किएर होला, यो हाम्रो पप कल्चर बनिसकेको थियो। बिस्तारै हाम्रा तौरतरिका, भाषा बोली, भेषभूषा र रहनसहन हाम्रो चेतनाको प्रतिफलभन्दा पनि इन्टरनेटको एल्गोरिदम र ट्रेन्डको क्युरेसनको परिणाम बन्दै गए।

​यी दुई संसारको भिन्नता र सीमाहरू एकापसमा मिसिँदै गए। हाम्रो डिजिटल प्रेजेन्स कहिले भौतिक संसारको मापदण्ड बन्न पुग्यो, पत्तै भएन। दुवै संसारको उद्देश्य बिस्तारै एउटै हुँदै गयो, भौतिक संसारमा जस्तो सुकै भए पनि डिजिटल संसारमा भने आफूलाई पर्फेक्ट देखाउनु।

​यो मानसिकताबाट म पनि अछुतो रहन सकिनँ। आफ्नो डिजिटल उपस्थिति र डिजिटल फुटप्रिन्टहरूलाई नियाल्दै, खोतल्दै र सजाउँदै जाने क्रममा मेरो जीवनमा सबैभन्दा ठूलो खड्गो तब आयो, जब मैले थाहा पाएँ कि म दलित हुँ। मेरो आफ्नै सामाजिक पहिचानले मलाई बिस्तारै तगारो लगाउन थाल्यो। सामाजिक सञ्जालमा देखिने त्यो मेरो पूरा नाम र थर कसैका लागि बाधा नभए पनि, मेरै मनमा एउटा ठूलो संशय बनेर खड्किन थाल्यो।

​यो समय यस्तो थियो, जहाँ सामाजिक सञ्जाल केवल एउटा पुस्ताको मात्र रहेन। फरक फरक उमेर समूहका आफन्त, नातेदार र छरछिमेकीहरू पनि त्यहाँ जोडिने बेला भएको थियो। र, ठ्याक्कै यही बिन्दुमा भौतिक संसारको त्यही पुरानो जातवादी दृष्टि र विचारधारा, डिजिटल संसारमा पनि सर्न थाल्यो। त्यो दृष्टिको आगमनले मेरो मानसिक असहजतालाई झन् झन् बढाउँदै लग्यो। अन्ततः, त्यही मानसिक त्रास र संकोचका कारण मैले सामाजिक सञ्जालमा आफ्नो पूरा नाम लेख्न छोडिदिएँ, ताकि न यो डिजिटल संसारले, न मेरा नयाँ साथीहरूले, न त पुराना परिचितहरूले नै म कुन जात वा समुदायको हुँ भनेर थाहा पाउन सकोस्।

सायद, आफ्नो वास्तविक पहिचान लुकाएर हिँड्नुपरेको त्यही दिन, त्यही अवस्था र त्यही परिवेशबाट म यो संसारको ‘डिजिटल अ-नागरिक’ भई गएँ।

​विडम्बना के छ भने, यो अनलाइन स्पेसमा विभेद र त्रासलाई जान अन्जानमा बढावा दिने पात्रहरू मेरो सन्दर्भमा बाहिरका अपरिचित व्यक्तिहरू मात्र थिएनन्, हाम्रै आफ्नै आफन्त र परिवारजन थिए। आज फेसबुक, टिकटक र ह्वाट्सएप जस्ता माध्यमहरूमा हाम्रा बुबा बाजेको पुस्ता निकै सक्रिय छ। तर, तीमध्ये अधिकांश आफ्नो डिजिटल पहिचानलाई लेकर भयभित र अत्यधिक सतर्क हुनुहुन्छ। अनलाइनमा आफ्नो वास्तविक दलित थर लुकाउने, र सकेसम्म दलित थर खुलाएर एकाउन्ट चलाएका आफ्ना नाता गोतालाई साथी (Friend) नबनाउने एउटा अघोषित नियम नै चलिरहेको छ। कथमपि साथी बनाइहाले पनि उनीहरूसँग सम्बन्ध जोडिने खालका कुनै पनि डिजिटल पदचिह्नहरू, जस्तै लाइक, कमेन्ट, ट्याग वा मेन्सन नगर्ने एउटा अलिखित अभ्यास म आफैँले भोगेको छु।

​मलाई सम्झना छ, एउटा पारिवारिक विवाह समारोहमा मेरा एकजना निकै नजिकका आफन्त असाध्यै असहज देखिनुभयो। सामूहिक तस्बिर खिच्ने क्रममा उहाँ लगातार क्यामेराबाट पन्छिन खोज्नुभयो, तस्बिर खिच्न कति पनि मान्नुभएन। पछि थाहा भयो, उहाँले सुटुक्क मेरो आमालाई भेटेर ती फोटोहरू सामाजिक सञ्जालमा गल्तीले पनि अपलोड नगर्न कडा चेतावनी दिनुभएछ, किनकि अनलाइनमा उहाँले आफ्नो थर बदलेर अर्कै पहिचान बनाउनुभएको थियो। यस्तै अर्को घटनामा, ती आफन्तका छिमेकी र मेरो आमाको साथी सामाजिक सञ्जालमा एकापसमा साथी (Friends) रहेको थाहा पाउनेबित्तिकै उहाँले आत्तिएर ती आमाको साथीलाई तुरुन्तै फोन गर्नुभयो। उहाँले कुनै पनि हालतमा मेरो आमा बुबा र उहाँबीचको पारिवारिक नाता सम्बन्ध र छिमेकी साम नाता नखुलाइदिनु हुन बिन्ती र अनुरोध गर्नुभयो। एउटा अनलाइन प्रोफाइलका कारण आफ्नै रगतको नाता लुकाउनुपर्ने यो डर कति गहिरो र विकराल रहेछ भन्ने कुराले मेरो मन अमिलो बनायो।

​यो डरको सिलसिला यत्तिमै रोकिँदैन। यस्तै थर फेरेका अर्का आफन्तको छोराको विवाहमा मेरो मितिनी आमालाई निम्तो आयो, जो आफ्नो वास्तविक दलित थरमै गर्व गर्नुहुन्छ र उहाँको अनलाइन प्रोफाइल पनि पब्लिक छ। विवाह समारोहमा पुगेपछि जब उहाँले बेहुलालाई (जो नाताले मेरो मितिनी आमाको छोरा नै पर्छन् ) फेसबुकमा एड (Add) गर्ने इच्छा राख्नुभयो, तब बेहुलाले पहिले आफ्नो फेसबुकबाट त्यो दलित थर नहटाएसम्म एड गर्दिनँ भनी स्पष्ट जवाफ दियो। त्यो क्षण कति निराशाजनक र अपमानजनक थियो होला!

​त्यस्तै, मेरो आफ्नै एकजना दाइ नाता पर्नेले मलाई सधैँ जातको बारेमा बङ्ग्याएर, घुमाउरो पाराले केरकार गर्नुहुन्थ्यो, “हैन, तिमीले प्रोफाइलमा ‘नेपाली’ नै लेख्छौ? सञ्जालमा पनि यही थर राख्छौ? पछि समस्या हुन्न?” जब मैले मलाई केही समस्या छैन भन्दै उहाँको संकुचित प्रश्नमाथि नै प्रतिजिज्ञासा राख्थेँ, तब उहाँ कुरा टारेर उम्किनुहुन्थ्यो। तर, मेरो अनलाइन पहिचान दलित थरमै स्पष्ट भएकाले उहाँले कहिल्यै मेरो फ्रेन्ड रिक्वेस्ट स्वीकार गर्नुभएन। दैनिक रूपमा दोहोरिने यस्ता साना साना घटनाहरूले अनलाइन स्पेसमा एउटा अदृश्य सामाजिक बहिष्कार र गहिरो विभेदको सम्प्रेषण गरिरहन्छन्, जसका कारण हामीले निरन्तर एउटा भित्री मानसिक तनाव र पारिवारिक दुरीको नमीठो अभाव भोगिरहनु परेको छ।

​यो यथार्थ केवल जात व्यवस्थाको परिधिभित्र मात्र सीमित छैन। आज इन्टरनेटको यो विशाल संसारमा विभिद यौनिक तथा लैङ्गिक पहिचान, विभिद वर्ग, शारीरिक रूप, वा समाजको स्थापित मापदण्डमा नअटाउने अनेकौँ डिजिटल पहिचानहरू यसै गरी सीमान्तकृत गरिएका छन्। समाजले थोपरेका परम्परागत अपेक्षाहरू र कृत्रिम दबाबका कारण हामीमध्ये धेरैजना दैनिक रूपमा आफ्नो साँचो अस्तित्वको कतिपय अंश मार्न र अनलाइन स्पेसमा अ नागरिक बन्न विवश छौँ। विडम्बना त के छ भने, जुन प्रविधिलाई हामीले स्वतन्त्रताको संवाहक ठानेका थियौँ, त्यसका डिजिटल एल्गोरिदम र सुझाव (Friend Suggestions) हरूले हाम्रा पुराना सामाजिक पूर्वाग्रह, अन्याय र संकुचित मूल्यमान्यताहरूलाई झन् ठूलो स्वरमा एम्प्लिफाई गरिरहेका छन्।

​तर, के प्रविधिको यो भविष्य सधैँ यस्तै अन्धकारमय रहला त?

​डिजिटल स्पेसको लोकतन्त्र तब मात्र सम्भव छ, जब यस भूगोलमा टेक्ने हरेक व्यक्तिले आफ्नो साँचो पहिचान लुकाउनु पर्ने छैन। अबको आह्वान केवल प्राविधिक सफ्टवेयर परिवर्तन गर्ने मात्र होइन, स्क्रिन पछाडिको मानिस र उसको आत्मसम्मानलाई केन्द्रमा राख्दै हाम्रो मानवीय र सामाजिक चेतनालाई पुनर्संरचना गर्ने हो। इन्टरनेटलाई एउटा यस्तो सुरक्षित र न्यायपूर्ण संसार बनाउन सायद सोच्नुपर्ने भएको छ, जहाँ कसैले पनि आफ्नो नामको हिज्जे वा थर बदल्नु नपरोस्, जहाँ कसैले आफ्नो परिवारलाई लुकाउनु नपरोस्, र जहाँ आफ्नो वास्तविक पहिचानसहित बाँच्नका लागि कसैले पनि अ नागरिकको बन्धन स्वीकार्नु नपरोस्। 

 

 

लेखकको बारेमा

अरुण सिंह नेपाली काठमाडौँको सामाखुशीमा बस्ने २५ वर्षीय कम्प्युटर इन्जिनियर र एआई उत्साही हुन्। इन्जिनियरिङमा आफ्नो शैक्षिक ध्यान केन्द्रित गर्नुका साथै, उनी नैतिक प्रविधि निर्माणमा केन्द्रित छन् र प्रविधि र एआई सम्बन्धी चुनौतीहरू र नैतिक विचारहरूलाई नेभिगेट गर्न डिजिटल नेटिभको रूपमा आफ्नो दृष्टिकोणलाई प्रयोग गर्छन्। एक दलित युवाको रूपमा, उनी प्रणालीगत अन्यायलाई हाइलाइट गर्ने, दलित मुद्दाहरूलाई सम्बोधन गर्ने र सीमान्तकृत समुदायहरूलाई असर गर्ने सामाजिक-राजनीतिक सरोकारहरूको बारेमा जागरूकता जगाउने कुरामा आफ्नो वकालत केन्द्रित गर्छन्। जेन जेड आन्दोलन पछि जेन जेड नागरिक सहभागिताको फराकिलो ढाँचा भित्र उनले यी विषयवस्तुहरूमा पनि संलग्न भएका छन् र जेन जेड आन्दोलन गठबन्धनका सदस्य हुन्।