-नेहा गौचन

 

ट्रिगर चेतावनी* घृणायुक्त भाषण र आक्रमणका अनुभवहरूको उल्लेख

 

जून, गौरव महिनाको लागि मात्र नभएर व्यक्तिहरुको अनौपचारिक भेटघाटहरू, समुदायलाई एकआपससँग नजिक बाँध्ने सत्रहरू, र क्वयेर समुदायका लागि आयोजित र स्वामित्वमा रहेका कार्यक्रमहरूले गर्दा एक खास महिना रहेको छ। हुन त, यी भेलाहरू जूनमा मात्र सीमित हुदैनन्, तर यस समयमा म आफ्नै घर फर्केको जस्तो छुट्टै अनुभूति हुनेगर्छ। यस्ता साम्प्रदायिक ठाउँको हिस्सा हुनुमा धेरै आनन्द छ जहाँ मेरो क्वयेरता मनाइन्छ, पहिचानको तरलताको सम्मान गरिन्छ, र अस्तित्वलाई मान्यता दिइन्छ। यो वर्ष मैले प्रतिक्षा गरेको धेरै कार्यक्रमहरु मध्ये एक नेपाल गौरव यात्रा थियो। नेपालमा गौरव यात्राको शारीरिक र व्यक्तिगत रुपमा आयोजना गरेको यो मेरो दोस्रो अनुभव थियो।

 

१० जुन २०२३ को बिहान, नेपाल गौरव यात्राको दिन, रंगीन इन्द्रेणी झण्डा, छाता, अनुहार पेन्ट,” Everyone is welcome here (except queerphobes)”, )”, “No pride for some of us without liberation for all of us” “Aspec love is love” “A for अयौनिक A for अप्रनायात्मक “ “Dalit, queer and proud” “Intersex people can be of any gender”  लेखिएको ब्यानरहरूका साथै क्वयेर हुनुमा एकता जनाउने भावनाले भरिएको थियो। यो समय जादुई थियो जहाँ, सामाजिक अनुरूपता, cis-gendered-hetero-allonormative, पितृसत्तात्मक संरचनाहरूको प्रतिरोध गर्न ठाउँ थियो। हामी सडकमा गएर हाम्रो क्वयेरता व्यक्त गर्‍यौं। यो गरिरहँदा, हामीले हाम्रो अस्तित्व र पहिचानलाई देखायौ तर यो संगसंगै, अफलाइन र अनलाईन ठाउहरुमा हाम्रो निजी पहिचान पनि बाहिरिने जोखिम बढायौँ।

अनलाइन ठाउँहरूमा गोपनीयता, अभिव्यक्ति र पहिचान

बढ्दो दृश्यताको साथ जोखिमहरू पनि बढ्छन् । विश्वभरका धेरै ठाउँहरूमा गर्व यात्राहरूमा शारीरिक रूपमा पुलिस क्रूरता वा एन्टी-क्वयेर घटनाहरू घट्ने गर्छन्। तर हामी त्यस दिन यस्तो अनुभव गर्नु नपरेकोमा भाग्यशाली थियौं।म मेरो साथी, “M” सँग कुरा गरिरहेको थिएँ, र उनले गर्व यात्रामा सामिल नभएका बाहिरी व्यक्तिहरूले जिस्काएको र अपमानजनक टिप्पणीहरू दिएको अनुभव गर्नुपरेको बताए। M उनिहरूसँग संलग्न हुन नचाहेको कारण उनीहरुलाई बेवास्ता गरे। यद्यपि, त्यस्ता अपमानजनक टिप्पणीहरू नेपाली सामाजिक अनलाइन स्पेसेसहरूमा पनि आइरहेका थिए र हुन्छ, र तिनीहरू केवल केही व्यक्तिलाई मात्र लक्षित नभइ पुरै समुदायलाई लक्षित गरेको हुन्छ।

मेरो धेरै साथीहरूका सामाजिक संजालहरू नक्कली र केही सक्कली परिचालित खाताहरूबाट पठाइएका एन्टि-कव्येर कुराहरूले भरिएका थिए।एक हातमा, क्वयेर शरीर र अभिव्यक्तिहरूको मूर्त रूप,  व्यक्तिहरू आफैमा खुसी भएको कुरा,रङ्गीन गर्व झण्डा, नारा र ब्यानरहरू सहितको फोटो/भिडियोहरू रंगीन थिए भने अनलाईनका आएका कमेन्टहरू भने थक्क उल्टो थिए। घृणित भाष्य, गालीको प्रयोग, अपमानजनक टिप्पणीहरू, क्वयेर व्यक्तिहरूलाई लक्षित गरी बलात्कार र ज्यान मार्ने धम्कीहरू व्यापक रुपमा अनलाईन देखिएको थियो। धेरैलाई हाम्रो अभिव्यक्ति र पहिचान मन परेको थिएन,हाम्रो पहिचान उनीहरुको लागि अस्वीकार्य थियो । हामीलाई “पाप” भनियो र “हामीले देश छोड्नुपर्छ” भन्ने टिप्पणीहरू पनि आयो । कोहिले भने, “गर्व मनाउनु भनेको पश्चिमी प्रचार हो”, “विदेशी संस्कृति हो” “इनीहरुले देश बिगार्यो” “यो हाम्रो बच्चाहरूको लागि खतरा हो,” आदि जस्ता टिप्पणी दिए। मैले सबै टिप्पणीहरू राखेको छैन किनभने यहाँ भएका कुराहरू नै धेरै घृणाले भरिएका छन्।

धेरै अनलाइन समाचार मिडिया पोर्टलहरूले गर्व यात्रा-सम्बन्धित तस्बिरहरू, क्याप्शनहरू र समाचार लेखहरू राखेको देखे र तिनीहरू सबै भन्दा अगाडि पोस्ट गर्नेहरूमध्ये थिए। २७ जुन २०२३ सम्म, इन्स्टाग्राममा एक अग्रणी अनलाइन समाचार मिडियाले १४ टिप्पणीहरू सहित ८१० लाईकहरू प्राप्त गर्यो भने अर्को अनलाइन पृष्ठ, जुन “चेतना फैलाउने” रूपमा ब्रान्ड गरिएको थियो, त्यस खाताले गौरव दिवसको फोटोहरूमा ४५४ टिप्पणीहरू सहित ८५३० लाईकहरू कमाएको थियो। यस्ता धेरै अन्य आउटलेटहरूले गौरव दिवसको फोटोहरूमा व्यापक संलग्नताहरू प्राप्त गरेको देखियो। यसले अन्तरक्रियाहरू त बढेको थियो, तर अरुको गोपनीयता र सुरक्षाको मूल्यमा।

गर्व यात्रामा सामेल भएकी एक anonymous क्वयेर व्यक्ति, बिचेनले भनिन् उनको फोटोहरू सहमति र जानकारी बिना अनलाइन समाचार पोर्टलहरूले प्रकाशित गर्ने सम्भावनाले उनी निरन्तर डरमा थिइन्। “यो मेरो पार्टनरसँग गर्व यात्रामा भाग लिएको पहिलो पटक थियो। म उसको हात खुलेआम समातेर ऊसँगै नाचिरहेको थिएँ । तर जब म घर फर्केर विभिन्न मिडियाका खाताहरूबाट राखिएका गर्व यात्राका तस्बिरहरू देखे,  मैले सबै खाताहरू एक-एक गरेर आफ्नो फोतो त छैन भनेर जाँचे, सुरक्षित महसुस गर्नका लागि।“ बिचेनका तस्बिरहरू सामाजिक सञ्जालमा नआए पनि उनी अझै पनि आफू, आफ्नो यौनिकता र आफ्नो गोपनीयताप्रति सचेत छिन्।

गोपनीयता माथि आक्रमण र प्रश्नहरूको साथमा, कुनै पनि अनलाइन मिडिया खाताहरू आफ्नो पोस्टहरूमा गरिएका घृणित टिप्पणीहरूको लागि जिम्मेवारि लिएनन् । ति घृणित टिप्पणीहरू, जुन मध्य केहि माथि उल्लेख गरिएको छ, अझै पनि ती मिडिया खाताहरूको फिडमा छ। हजारौं फलोअरहरू भएका यी खाताहरूबाट जिम्मेवारीको लापरवाहीले “LGBTQIAP+ जीवन महत्त्वपूर्ण छ” भन्ने कुरा भनाइमा मात्र सिमित भएको देखाउँछ। वास्तवमा, क्वयेर व्यक्तिको सुरक्षा भन्दा पोस्टको भिउ, लाइक, सेयर र अन्तरक्रियाको गणनालाई प्राथमिकता दिइने गरिन्छ।

र यो केवल अनलाइन समाचार मिडियाले मात्र जवाफदेहिता लिनु पर्ने नभई मेटा, टिकटक, र बाँकी सोशल मिडिया प्लेटफर्महरूको पनि भूमिका हुनेगर्छ। विडम्बना यो छ कि सामुदायिक दिशानिर्देशहरू वा मापदण्डहरूले क्वयेर लगायत अरु सीमान्तकृत समुदायहरुलाई अनलाइन हिंसाबाट जोगाउन थोरै मात्र प्रयास गर्दछन्। क्वयेर वकालतमा केन्द्रित संस्था GLAAD ले आफ्नो वार्षिक Social Media Safety Index २०२३ मा विभिन्न सामाजिक मिडिया प्लेटफर्महरूमा LGBTQIAP+ सुरक्षा, गोपनीयता र अभिव्यक्तिको आधारमा उनीहरूको स्कोरकार्ड मूल्याङ्कन गरेको थियो। त्यस प्रतिवेदन अनुसार, ट्वीटर सबैभन्दा तल थियो भने युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्राम त्योभन्दा माथि परेको थियो।

इन्स्टाग्रामको एक मानक अनुसार, “कसैलाई उनीहरूको जात, जाति, राष्ट्रियता, लिङ्ग, लैङ्गिकता, यौनिकता, धर्म, अपाङ्गता वा रोगको आधारमा हिंसालाई प्रोत्साहन गर्नु वा आक्रमण गर्नु कहिल्यै ठीक हुँदैन।” दोस्रो पङ्क्तिले “जब घृणायुक्त भाष्य त्यसलाई चुनौती दिन वा चेतना जगाउन साझा गरिन्छ, हामी यसलाई अनुमति दिन सक्छौं। ती अवस्थाहरूमा, हामी तपाईंलाई आफ्नो इरादा स्पष्ट रूपमा व्यक्त गर्न अनुरोध गर्दछौं।” निम्न कथनले प्रारम्भिक उप-निर्देशनलाई विरोधाभास गर्दछ किनभने, कुनै पनि इरादाका साथ समुदाय वा समूहको विरुद्धमा घृणायुक्त भाषण प्रयोग गरिन्छ भने त्यो मानव अधिकारको उल्लङ्घन गरिएको हो। यसले प्लेटफर्महरूले वकालत गरेको “विविध समुदाय” लाई कुनै पनि रुपमा प्रवर्धन गर्दैन। सामाजिक सञ्जाल प्लेटफर्महरूले अनलाईन जोखिमहरू कम गर्न र सीमान्तकृत समुदाय विरुद्ध घृणा कम गर्न असफल रहेका छन्। बरु तिनीहरू असमान रूपमा LGBTQIAP+ अभिव्यक्तिहरूलाई छायाँ प्रतिबन्ध वा उनिहरूको सामग्री हटाएर अनलाइन दबाउन खोजेका छन्।

जब “समुदाय निर्देशिका” को आवरणमा मनमानी सामग्री नियन्त्रण गरिन्छ जसले अनलाइनमा “यौन अभिव्यक्ति” चित्रण गर्दछ जबकि क्वयेर फोबिक सामग्री अछुतो रहन्छ, यो सामाजिक सञ्जाल कम्पनीहरूले खेल्ने दोहोरो मापदण्ड हो। अभिव्यक्तिलाई नियन्त्रण गर्ने प्रयासले कसैको एजेन्सीको नियन्त्रण र इन्टरनेटमा स्वतन्त्र रूपमा प्रयोग/अभिव्यक्त गर्न स्वायत्ततालाई जनाउँछ। हामी सबैलाई थाहा छ कि प्रविधि तटस्थ छैन, यो पक्षपाती छ र समुदायलाई सीमान्तमा सेवा गर्नुको सट्टा, यसले शक्तिमा रहेकाहरूको पक्ष र सेवा गर्दछ।

माथिका घटनाहरू धेरै हदसम्म क्वयेर पहिचान, शरीर र अभिव्यक्तिहरूसँग सम्बन्धित भएका डिजिटल अधिकारका मुद्दाहरू छन्। यी  आकस्मिक घटनाहरु नभइ समाजको फराकिलो प्रतिबिम्ब हुन् – वास्तविक जीवनको संसारमा अवस्थित असमान शक्ति असंतुलनको अस्तित्व डिजिटल संसारमा प्रतिविम्ब गर्छ र शरीरको “गैर-मानक” विचारहरूबाट कुनै पनि विचलनलाई स्वागत गरिदैन, झन तिनीहरूको आवाज मौन गरि हाम्रो पहिचानलाई मेटाइदिन्छ।

छुटेको लिङ्क

हाम्रो अस्तित्वको मौनता भित्र हराइरहेको कुरा चरम अंतरहरू हुन् जुन यी संरचनाहरू भित्र व्याप्त छन्। गर्व धेरै खुसी, प्रेम र आत्मीयतासंग मनाइन्छ, र हामीले प्राप्त गर्ने समर्थन हाम्रो सामुदादायिक बबल भित्र मात्र सीमित छ। अर्कोतर्फ, टेक दिग्गज र नाफामा संलग्न कम्पनीहरू/खाताहरूको लापरवाहीसले सामाजिक मिडिया प्लेटफर्महरूमा डिजिटल हिंसा जारी नै छ। गर्व वर्षमा एक पटक आउँछ। तर क्वयेर मानिसहरू हरेक दिन बाँच्छन्। हाम्रो जीवन र अस्तित्वको पूँजीकरण, जुन हाम्रो डिजिटल र अफलाइन सुरक्षाको मूल्यमा जूनमा मात्र हेडलाइनमा आउने गर्दछ, यस पक्षलाई प्रश्न गर्नुपर्छ । साथै, यी कथाहरू कसको स्वामित्वमा छन् र उनीहरूलाई मुख्यधारा र सामाजिक मिडिया स्पेसहरूमा कसरी चित्रण गरिएको छ भनेर जानाजानी विचार दिइनु पर्छ। किनभने अन्त्यमा, क्वयेर मानिसहरूको आफ्नै कथाहरूमा स्वायत्तता हुनुपर्ने कुरा हाम्रो वार्तालापको केन्द्र हो र हुनुपर्छ, र उनीहरूसँग आफ्नो जीवनका अनुभवहरूको अर्थ सिर्जना गर्ने एजेन्सी छ, जुन सहज र सुरक्षित महसुस गर्ने तरिकामा छ, चाहे अफलाइन होस् वा अनलाइन।

गर्व महत्त्वपूर्ण छ, तर त्यो संगै हाम्रो गोपनीयता, अभिव्यक्ति, अनुभव र शरीरहरू पनि महत्वपूर्ण छ, जुन उत्सवको भाग हो र यो एउटा मात्र कथा होइन।

लेखकको बारेमा

नेहा गौचन मानव अधिकारमा पृष्ठभूमि भएकी एक आदिवासी महिलावादी कार्यकर्ता हुन्। उनका विगतका अनुभवहरूमा बालबालिकाहरूमा केन्द्रित डिजिटल अधिकारको क्षेत्रमा काम गर्नु समावेश छ। नेहालाई विभिन्न रूपहरूमा कला मन पर्छ, जसमध्ये संगीतमा डुब्नु उनको मनपर्ने शौक हो। उनले हालसालै डिजिटल कला र चलचित्रहरूमा पनि हात हालेकी छिन् र आफ्नो सक्रियता, आदिवासीता र कलाकृतिलाई कसरी मिलाउन सकिन्छ भन्ने विभिन्न तरिकाहरू खोजिरहेकी छिन्। उनी कोरियन नाटक र KPOP को एक उत्साही प्रशंसक हुन्, कहिलेकाहीं आफ्नो नोटप्याड र ब्लगमा आफ्ना अराजक विचारहरू लेख्छिन्, र बास्केटबल उत्साही हुन्!