सुरक्षित इन्टरनेट दिवस २०२३ बिशेष

इन्टरनेटको बढ्दो पहुँच र प्रयोगसंगै सरकार, नीजि क्षेत्र र सरोकारवाला पक्षबाट बिभिन्न डिजिटलाइजेसन र डिजिटाईजेसनको कार्यक्रम अगाडी बढी रहेको छ । साथ साथै हाम्रो सबै खाले सामाजिक, आर्थिक, प्राज्ञिक गतिविधिहरु इन्टरनेट संगै सम्बन्धित हुदै गइरहेकोले बर्तमान समयमा अनलाईन गोपनीयता र अनलाईन सुरक्षाको सवाल एकदम महत्वपूर्ण भएर आएको छ ।

हालसालै पाँच महिनामा ३२ करोड सम्म डिजिटल लूट भएको खबरले नेपाली डिजिटल सेवाका प्रयोगकर्ताहरु डिजिटल साक्षरतामा कमजोर भएको  र अनलाईन सुरक्षामा सचेत हुन आवश्यक भाष्य सर्वपक्षीय रुपमा अगाडी आइरहेको छ । यसका साथै महिला र बालबालिकाको लागि इन्टरनेट सुरक्षित स्थान होइन भन्ने धारणा पनि उत्तिकै बलियो छ जसको लागि महिला स्वयम् र बालबच्चाको अभिभावक जिम्मेवार हुनु पर्ने छलफल प्राय सार्वजनिक अनलाईन र अफलाईन थलोमा हुनेगर्छ । हामी डिजिटल अधिकार सम्बन्धि अध्ययन र काम गर्ने संस्थाको हैसियतले यो खालको भाष्य एकतर्फी र अपुरो छ भन्ने बडी एण्ड डाटाको धारणा आज सुरक्षित इन्टरनेट दिवस २०२३ को अवसरमा सबै सरोकारवाला र आम समुदायमा पुन: सार्वजनिक गर्न चाहन्छौ ।

निश्चय नै अनलाईन सुरक्षाको उपाय र पहलहरु आवश्यक र पेचिलो बिषय हो । तर हाम्रो समग्र सामाजिक-सांस्कृतिक र आर्थिक संरचना कस्तो छ, त्यसमा के कस्ता समस्या र चुनौतीहरु छन् भन्ने खालको समष्टिगत छलफल नगरी यस्तो खालको बहस र भाष्य अपुरो, एकतर्फी र महिला, बालबच्च्चा र सिमान्तकृत समुदायका लागि हानिकारक हुन्छ । समाजमा रहेको लैंगिक, यौनिक, सांस्कृतिक, आर्थिक जस्ता विभेदको पहिचान र स्वीकार्यतासंगै महिला र बालसमूहको हकमा संरक्षणवादी दृष्टिकोण र यस्ता तमाम विभेदको अन्त्य नगरे सम्म हाम्रो अनलाईन र अफलाईंन दुवै थलोहरु उनीहरुको लागि सुरक्षित हुदैनन् । महिला र बाल समुहले भोगीरहेको अनलाईन असुरक्षा र आम प्रयोगकर्ताले भोग्ने गरेको बिशेषगरि आर्थिक ठगीहरु हाम्रै समाजको अर्थ-राजनीतिक शक्ति सम्बन्धको उपज हुन् जुन प्रविधिको युगमा अनलाईनमा स्थानातरण भई रहेको मात्र हो । यसको समाधानको लागि केवल डिजिटल साक्षरता, सुरक्षाका उपाय त्यो पनि पीडितलाई मात्र केन्द्रमा राखी बहस गरिनु भनेको अप्रेसन गर्नुपर्ने घाउलाई बेन्ड एड लगाउने काम मात्र हो ।

यसर्थ, समग्र सुरक्षित इन्टरनेटको बहस र पहलहरुमा समाजका बिभिन्न अंगहरु जस्तै सरकार, मिडिया, नागरिक समाज त्यसमा पनि अझै शक्तिशाली र पहुँचमा भएका बर्गले आफ्नो भूमिकालाई अझै केन्द्रमा राखी महिला, बालसमूह र सिमान्तकृत वर्गमैत्री छलफल र उपायहरु अबलम्बन गर्दै अगाडी बढ्नु नै सुरक्षित इन्टरनेटका लागि आवश्यक कदम हो भन्ने कुरा  विशेष जोड दिन चाहन्छौं ।

धन्यवाद ।

बडी एण्ड डाटा , भक्तपुर