See orginal article in English

 

अनुवादक: बबिता राई

लेखक- अलिसा एम

 

“चरा अब स्वतन्त्र भयो।“ ट्विटर खरिद गरिसकेपछि मस्कले ट्विट मार्फत जनाएको संक्षिप्त र उत्साहमय प्रतिक्रिया हो। ट्विटरलाई सबैले स्वतन्त्र रुपमा बोल्न पाउने एक समावेशी क्षेत्रको रुपमा रुपान्तरण गर्नु मस्कको मुख्य लक्ष्य रहेको थियो। तथापि, सबै किसिमका अभिव्यक्तिलाई रोकतोक नगरी सुरक्षित गर्नुपर्छ भन्ने मस्कको विचारले अभिव्यक्ति स्वतन्त्रताभित्रका जटिलताहरुलाई भने पूर्ण रुपमा बुझ्दैन। यो विचारबाट हेर्ने हो भने उनले प्रस्ताव गरेका नीतिहरुले कसरी ट्विटरलाई मुक्त गराउने भन्दा पनि बरु खुम्च्याउने काम चाहिँ गर्न सक्छन् भनेर देखिन्छ।

 

कन्टेन्टको समीक्षा हुनुले वास्तवमा अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छ

 

ट्विटरमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नका निम्ति एलन मस्कले प्रस्ताव गरेको समाधान भनेको कन्टेन्टको समीक्षा कम गर्नु हो। उनको विचारमा कन्टेन्टको समीक्षा गर्नु र सेन्सरसिप लगाउनु उस्तै हुन्। यो धैरैले राखेको एउटा गलत विश्वास हो। यो विवादले कन्टेन्टमाथि गरिने समीक्षाले अभिव्यक्ति स्वतन्त्रताको सुरक्षामा कस्तो भूमिका खेल्छ भनेर पहिचान गर्न सक्दैन। साथै वाक स्वतन्त्रता/अभिव्यक्ति स्वतन्त्रताले कसरी काम गर्छ भन्ने सवालमा रहेको आधारभूत भ्रम पनि यसले उजागर गर्छ।

कन्टेन्ट समीक्षाका लक्ष्यहरु सेन्सरसिपका लक्ष्यहरु भन्दा फरक हुन्छन। सेन्सरसिपले कुनै निश्चित कन्टेन्टमाथिको हाम्रो पहुँच खुम्च्याउने प्रयास गर्छ भने कन्टेन्ट समीक्षाले चाहिँ अनलाइनबाट अनुचित र हानीकारक मानिने कुनै पनि कुरालाई हटाएर समावेशी वातावरणलाई बढावा दिने लक्ष्य राख्छ। स्कूल वा घरपरिवारजस्ता वास्तविक जीवनका समूदायहरुमा विभिन्न नियमहरु भएजस्तै सामाजिक सञ्जालका माध्यमहरुमा पनि अनलाइन ब्यवहारका लागि नियमहरु बनाइएका हुन्छन्। सामाजिक सञ्जालका माध्यमहरुले कन्टेन्टको समीक्षा गरेर, सेवाका सर्तहरु उल्लङ्घन हुने किसिमका पोस्टहरु जस्तै घृणाजन्य अभिव्यक्ति र धम्कीहरुलाई हटाउँछन् र प्रयोगकर्ताहरुले आफ्नो धारणा, विचार र विश्वासलाई कुनै पनि प्रतिसोधको डरबिना खुल्ला रुपमा व्यक्त गर्न सक्ने सुरक्षित ठाउँ सिर्जना गर्दछन्। यो भनेको अभिव्यक्ति स्वतन्त्रताका आधारभूत सिद्धान्तहरुमा समर्थन जनाउनु हो।

तर यहाँ सामाजिक सञ्जालका माध्यमहरुमा पोस्ट गरिएका कन्टेन्टमाथि हुने समीक्षाको अवस्था एकदमै ठिक छ भन्न खोजिएको चाहिँ होइन। खासमा त यो कति पनि ठिक देखिदैन। सुस्मिता रेग्मीले आफूमाथि भएको यौन हिँसाबारे टिकटक बनाउदा “कम्युनिटी गाइडलाइन्स उल्लङ्घन” भएको भन्दै उनको टिकटक अकाउन्ट हटाइएको समेत हामीले देखेका छौँ। ‘आइएसआइएस’ विरुद्ध लड्ने बहानामा ट्विटरले अरबी भाषा बोल्ने सामान्य प्रयोगकर्ताहरुलाई पनि प्रतिबन्ध लगाएको छ। त्यसैगरी घृणाजन्य अभिव्यक्ति वा ‘हेट स्पिच’ पत्ता लगाउने स्वचालित मोडेलहरुले अरु व्यक्तिहरुको तुलनामा छन्। यसबाहेक, टेक कम्पनीहरु प्राय कन्टेन्टमाथि हुने समीक्षासँग सम्बन्धित उनीहरुका नीतिहरुका कारण आलोचनामा पर्छन्। यी नीतिहरु पारदर्शी छैनन् भनेर आलोचना हुने गरेको छ। यसले गर्दा यी नीतिहरु जनताका आशा र मान्यताहरुसँग साँच्चिकै मिल्छन् कि मिल्दैनन् भनेर पत्ता लगाउन जनता र नीति निर्माता दुबैका लागि कठिन हुन्छ। हामीले गलत सूचना, ‘हेट स्पिच’ र अनलाइन ‘अल्ट-राइट मुभमेन्ट’ ब्यापक रुपमा फैलिएको देखिसकेका छौँ। धेरै मानिसहरुले यी नीतिहरुको चासो र प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

कन्टेन्टको समीक्षाभित्र सुधार गर्नुपर्ने धेरै कुराहरु छन् तर यसको मतलब हामीले यसलाई पूर्ण रुपमा हटाउनु पर्छ भन्ने पनि होइन। ट्विटरमा कन्टेन्टको समीक्षा घटाउनु भनेको सुरक्षालाई पनि घटाउनु हो। मानिसहरुले कुनै परिणामको डरबिना घृणा र धम्कीले भरिएका विचारहरु सजिलै राख्न पाउने डरलाग्दो वातावरण बनाउनु पनि हो। यसले महिला, क्वयैर व्यक्तिहरु, अपांगता भएका व्यक्तिहरु, अभियन्ताहरु र जात, रंगका अल्पसङ्ख्यकहरु जो अनलाइन हिँसामा सबैभन्दा धेरै पर्ने जोखिममा हुन्छन् विशेष गरी उनीहरुलाई हानी गर्दछ। र  सेन्टर फर काउन्टरिङ डिजिटल हेटले फेला पारेको तथ्यलाई हेर्ने हो भने हामी अहिले नै यो कुरालाई स्पष्ट रुपमा देख्न सक्छौँ। यसको अनुसार मस्कले ट्विटर किनेपछिको समययता मात्र काला जातिका व्यक्तिहरुलाई गाली गर्न प्रयोग हुने शब्द (एन वर्ड) को दैनिक प्रयोग सन् २०२२ को भन्दा तीन गुणा धेरै भएको छ। त्यसैगरी समयौनिक पुरुष र ट्रान्स व्यक्तिहरुलाई गरिने गालीको प्रयोग क्रमश ५८% र ६२% ले बढेको छ। ट्विटरलाई अभियान, समर्थन र समूदायका लागि प्रयोग गरिरहेका अपांगता भएका व्यक्तिहरु अपमानजनक म्यासेजहरु आउने क्रम बढ्न थालेपछि अब ट्विटर बाहेकका अरु बिकल्पहरु सोच्न बाध्य भएका छन्। मस्कले बनाउने भनिएको ‘समावेशी क्षेत्र’को लक्ष्यभन्दा त सीमान्तकृत समूहहरु धेरै टाढा छन्।

कन्टेन्ट समीक्षा घटाउने मस्कको निर्णयमा कति खतरा छ भनेर त हालसालै उनी आफैले पनि थाहा पाए जब कान्ये वेस्ट भनेर चिनिने ये ले यहुदीहरु विरुद्धका घिनलाग्दा कमेन्टहरु गर्नका लागि ट्विटरको प्रयोग गरे। मस्कले येको ट्विटर अकाउन्ट हटाउने निर्णय गरे। यसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नको लागि कन्टेन्टको समीक्षा हुनु किन आवश्यक छ भनेर देखाउछ। तथापि यो त केवल सार्वजनिक छानबिनका क्रममा मस्कले हटाएको एक चर्चित प्रयोगकर्ताको कुरा न हो। के ट्विटरमा अपांगता भएका व्यक्तिहरुमाथि दुर्व्यवहार गर्ने सामान्य प्रयोगकर्ताहरुमा पनि यही नियम लागू हुन्छ? यो माध्यममा गोरा जातिका मानिसहरु सबैभन्दा उच्च जातिका हुन् भन्ने मान्यता राखेर घृणाजन्य विचार फैलाउने ‘गोरा सर्वोच्चतावादी’हरुलाई चाहिँ के हुन्छ त? अहिलेलाई अलि धेरै नै खतरा हुने अवस्थामा वा मस्कले व्यक्तिगत रुपमा खासै नरुचाएका व्यक्तिहरुको घटनामा मात्र यो कन्टेन्ट समीक्षाको नीति लागू भएको जस्तो देखिन्छ। हानी गर्ने खालका बयानबाजीले विशेषगरी सीमान्तकृत समूहहरुमा यस्ता माध्यमप्रति नै अविश्वास र असुरक्षा पैदा गरिरहन्छन्।

सबै वास्तविक प्रयोगकर्ता प्रमाणित हुनुपर्ने नियमले समूदायहरुलाई जोखिममा पार्छ।

ट्विटरका केही स्पाम, बोट र ट्रोलिङ अकाउन्टलाई अप्ठ्यारोमा पार्न भनी “सबै वास्तविक प्रयोगकर्ताको प्रमाणीकरण गर्ने” मस्कको योजनाले पनि चिन्ता बढाएको छ। असल नियत नै भएपनि वास्तविक परिचय लुकाउन पाउने अधिकारलाई हटाइदिने हो भने फेरि यो अभिव्यक्ति स्वतन्त्रताको हितमा हुँदैन।

ट्विटरमा गुमनाम (एनोनिमस) रहन पाउने प्रावधानका कारण सीमान्तकृत समूदायहरुको लागि यो माध्यम आफ्नो लागि साथ, एकता र अपनत्वको भावना खोज्ने एक मूख्य आश्रय स्थान जस्तो बन्न पुगेको थियो। तथापि, आफ्नो पहिचान प्रमाणित गर्नुपर्ने प्रक्रियाले यो सबै सुरक्षा र गोपनीयताको भावनालाई खतरामा पार्छ। व्यक्तिगत जानकारी र परिचय बाहिरिन सक्ने जोखिमले सीमान्तकृत प्रयोगकर्ताहरु (जस्तै एलजिबिटीक्यू समूदाय वा हिँसाबाट प्रभावित व्यक्तिहरु)लाई यस्ता माध्यमहरुको प्रयोग गर्नबाटै रोक्न सक्छ।

दमनकारी सरकार भएका देशहरुमा व्यक्तिहरुको पहिचान खुल्नैपर्ने प्रावधान भयो भने यसको नतिजा गम्भीर हुन सक्छ। उदाहरणको लागि, साउदी अरबमा एलजिबिटीक्यू समूदायका व्यक्तिहरु एनोनिमस रुपमा भेला भएर खुल्ला रुपमा छलफल गर्नको लागि ट्विटर स्पेस सुरक्षित ठाउँ बन्यो। उनीहरु क्वयैर वा लैंगिक पहिचानहरु, विवाहअघिको सेक्स, प्रेम सम्बन्धहरु र नास्तिकताजस्ता सार्वजनिक रुपमा निषेधित मानिने विषयहरुमा छलफल गर्न भेला हुन्थे। यदि उनीहरुको पहिचान खुलेको भए उनीहरु कारबाहीमा पर्न सक्ने सम्भावना हुन्थ्यो। कुनै पनि अवस्थामा, आफ्नो पहिचान गोप्य राखेर ट्विटर चलाउन नसक्ने अवस्था भयो भने लामो समयदेखि समूदाय र साथको महत्वपूर्ण स्रोतको रुपमा ट्विटरमा भर पर्दै आएका सीमान्तकृत समूदायहरुलाई भयानक नोक्सान हुनेछ। उनीहरुले यहाँ पाएको समूदाय र साथ अफलाइनमा नपाउन सक्थे।

ट्विटरमा पहिचान लुकाउन पाइने प्रावधान हटाउदा सीमान्तकृत समूदायहरुले साथ र समर्थन प्राप्त गर्ने नेटवर्कहरु त रोकिन्छन् नै लामो समयदेखि ट्विटर माध्यममा भर पर्दै आएका सामाजिक आन्दोलनहरुको प्रगति र दृश्यतामा पनि बाधा पुग्छ। यो विशेषगरी द्वन्द्व वा दमनकारी शासन भोगिरहेका देशहरुमा महत्वपूर्ण विषय हो। किनभने पहिचान गोप्य राख्न पाउने प्रावधानका कारण अभियन्ताहरुले राज्यबाट हुन सक्ने कारबाहीको डरबिना एक अर्काका भोगाइहरु बाँड्न र सामाजिक आन्दोलनहरुलाई बलियो बनाउन पाएका छन्।

उदाहरणको लागि, इरानको सरकार विरोधी प्रदर्शनका क्रममा ट्विटरले इरानी नागरिकहरुलाई सरकार र अधिकारीहरुबाट भएका क्रुर गतिबिधिबारे जानकारी फैलाउने अनुमति दिएर महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसैगरी प्यालेस्टाइनीहरुले पनि वास्तविक ठाउँमै पुगेर बनाइएका रिपोर्टहरु शेयर गर्न र पक्षपाती मिडिया कभरेजहरुको विरोध गर्न लामो समयदेखि ट्विटरको प्रयोग गर्दै आएका छन्। प्यालेस्टाइनी डिजिटल अधिकारकर्मी र लेखक मारवा फताफ्ताले ट्विटरलाई ससारभरका प्यालेस्टाइनीहरुको लागि “लाइफलाइन” भनेर उल्लेख गरेका छन्। यसले गाजा, जेरुसेलम, युरोप र अमेरिकामा छरिएर रहेका प्यालेस्टाइनीहरुलाई जोड्ने काम गरेको उनको भनाइ छ।

सबै प्रयोगकर्ताको पहिचान प्रमाणित गर्नुपर्ने नियम यस्ता व्यक्तिहरुको लागि हानीकारक हुनेछ। नीजि स्वार्थ बोकेका एक अरबपतिलाई (विशेषगरी त्यो व्यक्ति जोमाथि धेरै ठाउँमा उनी स्थिर छन् कि छैनन् भनेर प्रश्न उठ्ने गरेको छ) लाखौं प्रयोगकर्ताहरुको व्यक्तिगत डाटामा पहुँच दिनु गम्भीर गल्ती हुन सक्छ। टेस्लाको मूख्य बजारमा रहेका सरकारहरुले मस्कलाई त्यस सरकारप्रति असहमत मानिसहरुको व्यक्तिगत जानकारी माग्न सक्ने जोखिम छ। यसले अभियन्ता र सरकार विरोधीहरुलाई खतरामा पार्न सक्छ। प्रयोगकर्ताले पहिचान प्रमाणित गर्नुपर्ने प्रस्ताव बनाउनु भन्दा त बरु कसैको पनि पहुँचमा नहुने प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारीको सुरक्षा गर्न धेरै सजिलो छ। यो धेरै टाढाको कुरा पनि होइन किनकि सरकारहरुले यसअघि पनि प्रयास गरिसकेका छन्। सन् २०२१ मा भारत सरकारले कानुनी धम्की दिएपछि ट्विटर सेन्सरसिप लगाउन बाध्य भएको र नरेन्द्र मोदीको आलोचना गर्ने ५०० भन्दा बढी अकाउन्टहरु हटाएको घटनालाई सम्झौँ त। जब ट्विटरले ती अकाउन्टहरुलाई फेरी फिर्ता ल्यायो भारत सरकारले ट्विटरका कर्मचारीहरुलाई बन्धक नै बनाएर बदला लियो। अब फेरी सोचौँ त, यदि ट्विटरसँग ती ५०० अकाउन्टहरुको व्यक्तिगत डाटा भएको भए र सरकारले ती जानकारी खुलाउनको लागि धम्की दिएको भए कस्तो अवस्था हुन्थ्यो होला?

यदि ट्विटर प्रयोगकर्ताहरुले पहिचान प्रमाणित गर्नुपर्ने मस्कको योजना लागू भयो भने अभियन्ताहरु, सरकारका विपक्षीहरु र समाजका सीमान्तकृत व्यक्तिहरुको लागि ट्विटरमा आफूलाई स्वतन्त्र रुपमा व्यक्त गर्न सक्ने सजिलो अवस्था हुने छैन। यसले प्रयोगकर्ताहरुको एक महत्वपूर्ण भागको बोल्न पाउने स्वतन्त्रता खोस्ने मात्र होइन कि उनीहरुको सुरक्षा पनि खतरामा पर्छ। कतिपय गम्भीर अवस्थाहरुमा त उनीहरुको जीवन नै खतरामा पर्छ।

विचारहरुको निश्कर्ष

मस्कले प्रस्ताव गरेका नीतिहरु हेर्दा अभिव्यक्ति स्वतन्त्रता बारेको उनको बुझाइमा समस्याहरु छन् भनेर स्पष्ट हुन्छ। तथापि, यस्तो पनि हुन सक्छ कि यी नीतिहरु अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्ने इमान्दार प्रतिबद्धताबाट भन्दा पनि मस्कको आफ्नै विचारधाराको प्रभावबाट आएका हुन सक्छन्।

हामीले मस्कलाई प्रगतिशील विचार बोक्ने प्रविधीसम्बन्धी पत्रकारहरुको अकाउन्ट हटाएको देखेका छौँ। साथै एलजिबिटीक्यू विरुद्धका विचारलाई बारम्बार समर्थन गरिरहेको पनि देखेका छौँ। ट्विटरमा कसरी केही आवाजले अरु आवाजको तुलनामा प्राथमिकता पाइरहेका छन् र यो धेरैलाई अलग्याउने माध्यमको रुपमा विकसित भइरहेको छ भनेर बुझ्न हालैको ‘ब्लु टिक’ सम्बन्धि निर्णयलाई लिन सकिन्छ। “ट्विटर अवश्य पनि वामपन्थप्रति पूर्वाग्रही छ” भनेर मस्कले पहिले पनि ट्विट गरिसकेका छन्। त्यसकारण, उनको आफ्नै प्रगतिशील विचार विरोधी एजेण्डालाई अगाडि ल्याउनको लागि उनका कामहरुको जाँच गरिएको हो भन्न पनि सकिन्छ।

जे भनेपनि, खुल्ला रुपमा बोल्न पाउने वातावरण सिर्जना गर्ने मस्कको भिजन अगाडि नै शक्ति र पहुँचमा भएका व्यक्तिहरुलाई मात्र लागू हुन्छ। धेरै त ट्विटरमा ‘हेट स्पिच’ फैलिनु र पहिचान लुकाउन पाउने प्रावधान हटाउदा आउने खतराका कारण व्यक्तिले स्वतन्त्र रुपमा आफूलाई अभिव्यक्त गर्न सक्ने अवस्था हुन्छ होला त भन्ने गम्भीर प्रश्न नै उठेको छ। हामीले यो इन्टरनेट स्वतन्त्रताको नयाँ युग अनिश्चित र हानीकारक हुन सक्ने अनुमान लगाउदै जाँदा एउटा कुरा चाहिँ प्रष्ट नै छ- ट्विटर मस्कको अधीनमा रहनु अनलाइन अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्ने हाम्रो लडाइँका लागि फाइदाजनक भन्दा धेरै हानीकारक नै हुनेछ।

Photo of Alishaअलिसा एम.

अलिसा एक अनुसन्धानकर्ता, कथाकार र प्राविधिकको नाताले आफूसँग काम गर्ने समूदायहरुको कथाहरुमा प्रकाश पार्नको लागि इथ्नोग्राफी र डाटा विश्लेषणको मिश्रण गर्छिन्। प्रविधी र समाज आपसमा सम्बन्धित हुन्छन् र प्रविधीले हामी बाँच्ने र एक अर्कासँग जोडिने तरिकामा प्रभाव पार्छ भन्ने विषयमा उनले गहिरो चासो राख्छिन्।