मिति २०७७ माघ ३० गते आयोजित वृहत नागरिक आन्दोलनको महिला मार्चमा सम्मिलित अभियन्ता, कवि र महिलाहरुको आवाजलाई लिएर सामाजिक सञ्जालहरुमा घृणात्मक सन्देश फैलाउने, ट्रोलिङ्ग र अनलाईन दुर्व्यहार भएपछि सो अभियान्ता र बडी एण्ड डाटाले मिलेर ऐक्यबद्धताका लागि पत्र निकालेका थिए । यस पत्रमा ४६६ जना मानिसहरुले आफ्नो ऐक्यबद्धता जनाए ।


ऐक्यबद्धताका
 लागि आग्रह

 

मिति २०७७ माघ ३० गते आयोजित वृहत नागरिक आन्दोलनको महिला मार्चमा सम्मिलित अभियन्ता, कवि र महिलाहरुको आवाजलाई लिएर सामाजिक सञ्जालहरुमा घृणात्मक सन्देश फैलाउने, ट्रोलिङ्ग र अनलाईन दुर्व्यहार गर्नुका साथै कथित हिन्दुवादी शक्तिबाट व्यक्तिगत रुपमै ज्यान मार्ने र बलात्कारको धम्की दिने काम भएकोमा उक्त कार्य निकै निन्दनीय, समस्यायुक्त र आपत्तीजनक छ भन्ने हाम्रो ठहर छ। हामी त्यस्ता कार्यको घोर विरोध गर्दै अधिकार प्राप्ति र न्यायमूलक समाज निर्माणका निम्ती आफ्नो आवाज अझ बुलन्द राख्न चाहन्छौं ।

महिला मार्चमा सहभागी अभियन्ताहरुमध्ये पनि सीमान्तकृत मधेशी समुदायका अभियन्ताहरु सपना सञ्जीवनी, पल्लवी पायल, मोहना अन्सारी र रीता साहले अहिले अनलाईनमा निकै घृणात्मक दुव्र्यबहार सामना गर्नु परेको डरलाग्दो अवस्था छ । एउटा नागरिकको हैसियतले आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता, भाषण, सभा, समारोह मार्फत आफ्ना विचारहरु अभिव्यक्ति गर्न पाउनु सबैको समान अधिकार हो । झन् सदियौंदेखिको महिला र सीमान्तकृतहरु माथि थुपारिएको कुन्ठित र आक्रमक सामाजिक, साँस्कृतिक, धार्मिक, कानुनी मान्यता र विभेदहरुलाई समाप्त पार्नका लागि त यस्ता आवाजहरु अपरिहार्य नै हुन्छ । तर पुरातन मान्यतामा जकडिएर बसेका तत्वहरुलाई यस्ता प्रगतीशील आवाजहरु सह्य नहुने कुरा कहीं कतै लुकेको छैन । आफ्नो खाई पाइ आएको विशेषाधिकार र सदियौं देखिको आफ्नो वचर्स्व गुम्ने डरले त्यस्ता तत्वहरु आभद्र र आक्रामक प्रतिक्रियामा उत्रिन थाल्छन् । त्यसैको परिणाम नै अहिले निजहरु माथि भइरहेको अनलाईन दुर्व्यहार हो ।

यस्ता अनलाइन दुर्व्यहार र घृणात्मक सन्देशहरु फैलाउनु र अभियन्ताहरुलाई धम्की दिनु भनेको उनीहरुको व्यक्तिगत आवाज मात्र दबाउनु होइन कि बरु सम्पूर्ण महिला र सीमान्तकृत समूदायको आवाजमा बन्देज लगाउने र उनीहरुको अधिकार कटौती गर्ने कदम हो । यसर्थ यस्ता अतिवादी मान्यता र आवाजहरुलाई निस्तेज पार्न, महिला तथा सीमान्तकृतहरुको अधिकार सुनिश्चित गर्ने प्रयासमा सामेल भई सामाजिक न्यायपूर्ण समाज निर्माणमा सहभागी हुनका लागि हामी सम्पूर्ण नागरिक समाज, नागरिक, अभियन्ता र शुभचिन्तकहरुमा अपिल गर्दछौं ।

 

अन्तमा हामी यस ऐक्यबद्धता पत्रमा आफ्नो नाम या छद्यम् नाम सहितको हस्ताक्षर र ( उपयुक्त लागेमा) आफू आबद्ध संस्था या समुहको नाम सहित ऐक्यबद्धताका लागि आमन्त्रण गर्दछौं ।

 

 

भवदीय,

सपना सञ्जीवनी
मोहना अन्सारी
रीता शाह
हिमा बिष्ट
पल्लवी पायल
बडी एण्ड डाटा (Body & Data)